काठमाडौं – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२३ मा ९ हजारभन्दा बढी मानवअधिकार उल्लङ्घन तथा दुर्व्यबहारको सिकार भएको जनाएको छ । इन्सेकले सोमबार प्रकाशित गरेको मानवअधिकार वर्ष पुस्तक–२०२४ मा सन् २०२३ मा ९ हजार ३८८ जना मानवअधिकार उल्लङ्घनमा परेको र दुर्व्यबहारको सिकार भएकोउल्लेख छ ।
डिसेम्बर २०२२ देखि २०२३ डिसेम्बरसम्मको एक वर्षको अवधिमा १४६ महिला र ८४२ पुरुष गरी कुल ९८८ मानवअधिकार उल्लङ्घनका पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रतिवेदनमा ७ हजार ७१६ महिला, २ एलजीबीटीक्यू र ६८२ पुरुष दुर्व्यवहारको सिकार भएको उल्लेख छ । इन्सेकले २०२२ मा ७ हजार ३७६ व्यक्ति मानवअधिकार उल्लङ्घन र ज्यादतीको सिकार भएको उल्लेख गर्दै सन् २०२२ को तुलनामा २०२३ मा यो संख्या २ हजार १२ ले बढी रहेको बताएको छ ।
२०२३ मा राज्य पक्षबाट ६ जनाको मृत्यु भएको थियो । त्यसैगरी २ जना यातनाको सिकार भएका, २ सय ४० जना पक्राउ, ६२ जना जातीय विभेदका, ४१४ जनालाई कुटपिट, ३१ जनालाई अमानवीय व्यवहार र ५५५ जना भेला तथा संगठित हुने अधिकारको शिकार भएको इन्सेकले जनाएको छ । ।
इन्सेकको अभिलेख अनुसार २ जनाको प्रहरी हिरासतमा र ५१ जनाको जेलमा मृत्यु भएको थियो । संखुवासभा कारागारमा प्रहरी यातना र कुटपिटबाट २ कैदीको मृत्यु भएको पनि उल्लेख छ । त्यसैगरी इन्सेकको प्रतिवेदनमा प्रदेशबाट १ जना र अज्ञात समूहबाट २ जना बेपत्ता भएको उल्लेख छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्