+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी कुनै दल वा सरकारको निजी संगठन होइन : मुभमेन्ट

डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

२०८३ मंसिर १२, शनिबार

काठमाडौं, मंसिर १० । जेनजी मुभमेन्ट नेपालले मलेसिया बायोमेडिकल प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमान सभामुख डोलप्रसाद (डीपी) अर्याल र इनम सापकोटाको मोबाइल प्रकरणमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन (कुमार व्यञ्जनकार) लाई राजनीतिक संरक्षण नदिन प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई चेतावनी दिएको छ।

मुभमेन्टले बुधबार प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर प्रहरी महानिरीक्षक केसीलाई ध्यानाकर्षणपत्र बुझाउँदै दुवै प्रकरणमा कुनै पनि राजनीतिक दबाब, प्रभाव वा हस्तक्षेपबिना निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो। मुभमेन्टले सार्वजनिक भएका विवरण, आर्थिक कारोबार तथा डिजिटल प्रमाणको निष्पक्ष छानबिन गरी संलग्नता पुष्टि हुने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिएको छ।

मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क असुली गरी करिब १ अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा अपचलन भएको भनिएको प्रकरणमा विभिन्न व्यक्तिमाथि अनुसन्धान भइरहेका बेला तत्कालीन श्रममन्त्री डीपी अर्यालको कार्यकालमा भएका निर्णय र आर्थिक कारोबारसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने मुभमेन्टको माग छ।

मुभमेन्टका अनुसार अर्याल श्रममन्त्री रहेको समयमा करिब ७ करोड २९ लाख रुपैयाँ मलेसिया पठाइएको सार्वजनिक विवरण बाहिरिएको छ। उक्त रकम कुन प्रक्रिया र निर्णयका आधारमा पठाइएको थियो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

एउटै प्रकृतिको प्रकरणमा अन्य मन्त्री तथा सरकारी अधिकारीमाथि अनुसन्धान अघि बढ्ने तर तत्कालीन श्रममन्त्रीको कार्यकालमा भएका निर्णय र आर्थिक कारोबारमाथि छानबिन नहुने अवस्था आए प्रहरीको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्ने मुभमेन्टले जनाएको छ।

मुभमेन्टले मन्त्रीको पदमा रहेका बेला भएका निर्णय तथा पत्राचार, रकम भुक्तानी र विदेश पठाइएको प्रक्रियाको समेत विस्तृत छानबिन हुनुपर्ने बताएको छ। सार्वजनिक पदमा बसेका व्यक्तिको निर्णय र जिम्मेवारीसमेत कानुनी परीक्षणको दायरामा आउनुपर्ने उसको धारणा छ।

कुमार बेनविरुद्धको जाहेरीमाथि अनुसन्धान गर्न माग

जेनजी मुभमेन्टले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनसँग सम्बन्धित इनम सापकोटाको मोबाइल प्रकरणलाई पनि गम्भीर रूपमा उठाएको छ।

मुभमेन्टले प्रहरी नियन्त्रणमा रहेको भनिएको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि प्रधानमन्त्री कार्यालय हुँदै कुमार बेनको निवाससम्म पुगेको, मोबाइलमा डिजिटल गतिविधि गरिएको, स्क्रिनसट लिइएको तथा केही सन्देश मेटाइएको भन्ने सार्वजनिक विवरणमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ।

मुभमेन्टका अनुसार उक्त घटनामा कुमार बेनसहित सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धानको माग गर्दै काठमाडौं प्रहरी परिसरमा विधिवत् जाहेरी दर्ता गराइसकिएको छ। तर जाहेरी दर्ता भएको लामो समयसम्म पनि अनुसन्धानको प्रगति र सम्भावित कारबाहीबारे स्पष्ट जानकारी प्राप्त नभएको उसको भनाइ छ।

ध्यानाकर्षणपत्रमार्फत मुभमेन्टले प्रहरी नेतृत्वसमक्ष जाहेरीमाथि अनुसन्धान अघि नबढ्नुको कारणसमेत माग गरेको छ।

‘कुमार बेनविरुद्ध जाहेरी दर्ता भइसकेको छ। अब अनुसन्धान किन भइरहेको छैन? अनुसन्धान रोकिएको हो वा राजनीतिक दबाब र प्रभावका कारण प्रक्रिया प्रभावित भइरहेको छ?’ मुभमेन्टले प्रहरी नेतृत्वसमक्ष प्रश्न गरेको छ।

मोबाइलमा रहेका डिजिटल विवरण अनुसन्धानका लागि महत्त्वपूर्ण प्रमाण हुन सक्ने भन्दै मुभमेन्टले फरेन्सिक परीक्षणलाई प्राथमिकता दिनुपर्ने जनाएको छ। मोबाइलको डिजिटल गतिविधि, सन्देशको अवस्था र सम्भावित परिवर्तनसम्बन्धी प्राविधिक तथ्य परीक्षण गरी प्रमाण सुरक्षित राख्नुपर्ने उसको माग छ।

डिजिटल प्रमाणको प्रकृति र संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया पारदर्शी तथा कानुनी विधिअनुसार अघि बढाउनुपर्ने मुभमेन्टको भनाइ छ।

प्रहरी कुनै दल वा सरकारको निजी संगठन होइन : मुभमेन्ट

ध्यानाकर्षणपत्रमा जेनजी मुभमेन्टले नेपाल प्रहरीको संस्थागत निष्पक्षता र व्यावसायिक भूमिकामाथि पनि प्रश्न उठाएको छ। प्रहरी सरकार वा कुनै राजनीतिक दलको निजी संगठन नभई संविधान र कानुनअनुसार काम गर्ने सुरक्षा निकाय हुनुपर्ने मुभमेन्टको धारणा छ।

सत्तामा रहेका व्यक्ति, राजनीतिक दल वा उच्च पदस्थ अधिकारीसँग सम्बन्धित विषयमा समेत प्रहरीले समान कानुनी प्रक्रिया अपनाउनुपर्ने उसको माग छ।

‘नेपाल प्रहरी सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन हो कि संविधान र कानुन कार्यान्वयन गर्ने निकाय हो? प्रहरीको जिम्मेवारी सत्तामा रहेका व्यक्तिको स्वार्थ रक्षा गर्नु होइन, कानुनको शासन कायम गर्नु हो,’ मुभमेन्टले ध्यानाकर्षणपत्रमा प्रश्न गरेको छ।

मुभमेन्टले अनुसन्धानमा राजनीतिक प्रभाव पर्न नदिन प्रहरी नेतृत्वले संस्थागत प्रतिबद्धता देखाउनुपर्ने जनाएको छ। कुनै व्यक्ति पदमा रहेको वा राजनीतिक पहुँच भएको आधारमा अनुसन्धानको दायराबाट बाहिर राख्न नहुने उसको भनाइ छ।

सार्वजनिक पदमा रहेका व्यक्तिमाथि उठेका प्रश्नको छानबिन गर्दा प्रमाण, कानुनी प्रक्रिया र अनुसन्धानको निष्पक्षतालाई आधार बनाउनुपर्ने मुभमेन्टले उल्लेख गरेको छ। अनुसन्धानमा समान व्यवहार नदेखिए त्यसले प्रहरीप्रतिको जनविश्वास कमजोर बनाउन सक्ने पनि उसले चेतावनी दिएको छ।

प्रहरी महानिरीक्षकसमक्ष पाँच बुँदे माग

जेनजी मुभमेन्टले प्रहरी महानिरीक्षकलाई बुझाएको ध्यानाकर्षणपत्रमा दुवै प्रकरणसँग सम्बन्धित विभिन्न माग अघि सारेको छ।

मुभमेन्टले डीपी अर्याल श्रममन्त्री रहेको कार्यकालका निर्णय, पत्राचार, भुक्तानी तथा मलेसिया रकम पठाइएको प्रक्रियाको अनुसन्धान गर्न माग गरेको छ। त्यस्तै कुमार बेनविरुद्ध काठमाडौं प्रहरी परिसरमा दर्ता भएको जाहेरीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उसको माग छ।

इनम सापकोटाको मोबाइलको फरेन्सिक परीक्षण गरी त्यसमा रहेका डिजिटल प्रमाण सुरक्षित राख्न तथा मोबाइलमा भएका भनिएका गतिविधिको प्राविधिक परीक्षण गर्न पनि मुभमेन्टले आग्रह गरेको छ।

यसका अतिरिक्त दुवै प्रकरणमा अनुसन्धानको वर्तमान अवस्था, अनुसन्धानमा संलग्न निकायको भूमिका र आगामी कारबाहीबारे सार्वजनिक जवाफदेहिता कायम गर्न प्रहरी महानिरीक्षकसँग माग गरिएको छ।

मुभमेन्टले अनुसन्धानका क्रममा कुनै राजनीतिक दबाब वा हस्तक्षेप हुन नदिन प्रहरी नेतृत्वले आवश्यक कदम चाल्नुपर्ने पनि उल्लेख गरेको छ।

दोषी घोषणा होइन, प्रमाणका आधारमा कारबाहीको माग

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा कुनै पनि व्यक्तिलाई पूर्वाग्रहका आधारमा दोषी घोषणा गर्ने उद्देश्य नरहेको स्पष्ट पारिएको छ। बरु सार्वजनिक भएका विषयको सत्यतथ्य पत्ता लगाउन प्रमाणमा आधारित अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने मुभमेन्टको भनाइ छ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘हामी कुनै व्यक्तिलाई पूर्वाग्रहका आधारमा दोषी घोषणा गर्न माग गर्दैनौँ। तर प्रमाणका आधारमा अनुसन्धान, निष्पक्ष सुनुवाइ र दोष प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ।’

मुभमेन्टले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जवाफदेहिता र कानुनको समान कार्यान्वयन लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गरेको छ। कुनै पनि पद वा राजनीतिक पहुँचले कानुनी प्रक्रियाबाट उन्मुक्ति दिन नसक्ने उसको धारणा छ।

ध्यानाकर्षणपत्रको अन्त्यमा मुभमेन्टले कानुनको शासन कायम गर्न प्रहरीको निष्पक्ष भूमिका अनिवार्य रहेको उल्लेख गर्दै भनेको छ, ‘कानुनभन्दा माथि कोही छैन, न प्रधानमन्त्री, न सभामुख, न राजनीतिक सल्लाहकार र न कुनै राजनीतिक दल। सत्ता अस्थायी हो, संस्था स्थायी हो।’

जेनजी मुभमेन्टले दुवै प्रकरणमा निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न प्रहरी नेतृत्वलाई आग्रह गरेको छ। अब प्रहरी प्रधान कार्यालय र सम्बन्धित अनुसन्धान निकायले यी मागप्रति कस्तो प्रतिक्रिया जनाउँछन् तथा अनुसन्धान प्रक्रिया कसरी अघि बढाउँछन् भन्ने विषय चासोको केन्द्र बनेको छ

DOC-20261126-WA0014

DOC-20261126-WA0015

प्रतिक्रिया

लेखकको बारेमा