काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि पार्टी सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले आफू कुनै पनि गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन्। उनले आफ्नो नैतिकतामाथि प्रश्न उठाउनुपर्ने कुनै आधार नरहेको जिकिर गर्दै कार्यकर्तालाई आफ्नो पक्षमा ढुक्क भएर बोल्न आग्रह गरेका छन्।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ।
‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो, त्यो अनुसन्धानको विषय हो। अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुट्टिन्छ,’ उनले भने।थापाले कांग्रेसको आधिकारिकता र आन्तरिक रूपान्तरणका लागि भएको संघर्षमा कुनै आर्थिक लेनदेन नभएको पनि स्पष्ट पारेका छन्। उक्त संघर्षलाई कार्यकर्ताहरूको विद्रोहको संज्ञा दिँदै उनले करोडौँ रुपैयाँको लेनदेन भएको भन्ने आरोप अस्वीकार गरेका छन्।
यस विषयमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले अडियोको स्रोत, त्यसमा बोलिएका विषय र त्यसको उद्देश्यबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।
अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्न गएको भन्ने चर्चाबारे उनले भने, ‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन।’
प्रतिक्रिया