वाशिंगटन – अमेरिकाले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोको भिसा खारेज गर्ने निर्णय गरेको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार पेत्रोले न्यूयोर्कमा गरेको प्रो-फिलिस्तीनी प्रदर्शनका बेला दिएका “उत्तेजक कार्यहरू” का कारण यो कदम चालिएको जनाएको हो।
कोलम्बियाली सञ्चारमाध्यमहरूका अनुसार पेत्रो शुक्रबार राति नै न्यूयोर्कबाट बोगोटा फर्किरहेका थिए।
पेत्रोले क्यारिबियन सागरमा लागु पदार्थ तस्करी गर्ने भनिएका डुङ्गामाथि ट्रम्प प्रशासनले गरेको हवाई आक्रमणलाई “तानाशाही कार्य” भनेर टिप्पणी गरेका थिए।
पेत्रोले सामाजिक सञ्जालमा ठूलो भीडलाई सम्बोधन गरेको भिडियो शेयर गरेका थिए। भिडियोमा उनले राष्ट्रहरूलाई संयुक्त राज्य अमेरिकाभन्दा ठूलो सेना खडा गर्न योगदान दिन आह्वान गरेका थिए।
उनले अमेरिकी सैनिकहरूलाई “ट्रम्पको आदेश पालना नगर्नु” र “मानवताको आदेश मान्न” आग्रह गरेका थिए।
यसपछि अमेरिकी विदेश मन्त्रालयले उनको कार्यलाई कडा रूपमा आलोचना गर्दै,कोलम्बियाका राष्ट्रपति पेत्रोले न्यूयोर्कको सडकमा उभिएर अमेरिकी सैनिकलाई आदेश उल्लंघन गर्न र हिंसा भड्काउन उक्साएको कारण उनको भिसा खारेज गरिने बताएको हो ।
यस घटनापछि कोलम्बियाका आन्तरिक मन्त्री आर्मान्डो बेनेडेट्टीले प्रतिक्रिया दिँदै भने, “भिसा खारेज गर्नु पर्ने व्यक्ति प्रधानमन्त्री नेतान्याहु हुन्, पेत्रो होइन।
कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति पेत्रो सत्तामा आएपछि, अमेरिकासँगको सम्बन्ध झनै चिसिँदो छ।
यसअघि , अमेरिकाले फिलिस्तिनी राष्ट्रपति महमुद अब्बाससहित ८० जना फिलिस्तीनी अधिकारीलाई पनि भिसा दिन इन्कार गरेको थियो।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्