काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत ड्यानिएल मेउलीले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा राजदूत मेउलीले मन्त्री पदभार सम्हालेको अवसरमा घिसिङलाई बधाई दिँदै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिन्। दुबैबीच भएको कुराकानीमा स्विस सहयोगमा चलिरहेका आयोजनाहरूको प्रगति, आगामी दिनमा सहयोग गर्न सकिने सम्भावित क्षेत्रहरू, लगानीका अवसर र द्विपक्षीय सम्बन्धबारे चर्चा भएको थियो।
मन्त्री घिसिङले नेपालको विकासमा निरन्तर सहयोग गरिरहेको स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद ज्ञापन गर्दै नयाँ सरकारका प्राथमिकतामध्ये निर्वाचन सम्पन्न गर्ने, आन्दोलनका कारण क्षति पुगेका पूर्वाधारको पुनर्निर्माण, सुशासन कायम गर्ने र युवामा आशा जगाउने कार्य मुख्य भएको बताएका छन्।
उनले विद्युतीय सवारीसाधनको प्रवर्द्धन, घरायसी प्रयोजनमा विद्युत प्रयोगलाई प्रोत्साहन, सडक यातायातमा सुरुङ प्रविधिको प्रयोग, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन तथा साना उद्योगमार्फत रोजगारी सिर्जनाका लागि सीपमूलक तालिममा स्विस सहयोग आवश्यक रहेको उल्लेख गरे।
हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ आयोजना, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, र सीप विकास तालिमजस्ता कार्यक्रम सञ्चालनमा रहेका छन्। राजदूत मेउलीले ऊर्जा र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिँदै नेपाललाई सहयोग गर्न स्विट्जरल्यान्ड सदैव तयार रहेको बताइन्।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्