दोहा – गत हप्ता कतारको राजधानी दोहामा हमास नेतामाथि इजरायलले गरेको हवाई आक्रमणपछि अरब तथा इस्लामिक राष्ट्रहरूले आपतकालीन बैठक बोलाएका छन्।
बैठकको मस्यौदा प्रस्तावमा इजरायलको नरसंहारको कडा शब्दमा निन्दा गरिएको छ। प्रस्तावले यी कदमहरूले “शान्ति र सहअस्तित्वको सम्भावना नै संकटमा पार्ने” चेतावनी दिएको छ। इजरायलले भने यी आरोपहरूलाई अस्वीकार गरेको छ।
यसबीच, कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुर्रहमान बिन जसिम अल-थानीले अन्तर्राष्ट्रिय समुदायलाई “दोहोरो राजनीतक मापदण्ड” प्रयोग नगर्न र इजरायललाई कारबाही गर्न आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि दोहामा भएको इजरायली आक्रमणको निन्दा गर्दै तनाव कम गर्न आग्रह गरेको र कतारसँग ऐक्यबद्धता जनाएको छ।
इजरायली राष्ट्रपति आइज्याक हेर्जगले भने उक्त आक्रमणलाई आवश्यक रहेको बताउँदै भने, “यदि केही व्यक्तिहरू सम्झौताका लागि तयार छैनन् भने तिनीहरूलाई हटाउनुपर्ने हुन्छ।” हमासले आफ्ना वार्ता टोलीका सदस्यहरू बाँचेको पुष्टि गरे पनि पाँच जना सदस्य, जसमा प्रमुख वार्ताकार खालिल अल-हय्याका छोरा पनि थिए, मारिएका छन्। एक जना कतारी सुरक्षा अधिकृतको पनि मृत्यु भएको थियो।
कतारले २०१२ देखि हमासको राजनीतिक ब्युरोलाई आश्रय दिँदै आएको छ र हाल हमास र इजरायलबीच अप्रत्यक्ष वार्तामा मध्यस्थकर्ताको भूमिकामा छ। कतार अमेरिकाको नजिकको सहयोगी पनि हो र दोहानजिकै ठूलो अमेरिकी हवाई बेस अवस्थित छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्