काठमाडौं – नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाको टोली शुक्रबार काठमाडौं आइपुगेको छ। हिमालयन एयरलायन्सको विमानमार्फत लासा हुँदै आएको टोलीमा ३७ जना सैनिक रहेको बताइएको छ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने सैन्य अभ्यासको पाँचौं संस्करण शनिबारदेखि सुरू हुँदैछ। दस दिनसम्म चल्ने यो अभ्यास प्रतिआतंकवाद, युद्धकला र विपद् व्यवस्थापनमा केन्द्रित रहनेछ।
‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको संयुक्त अभ्यासको चौथो संस्करण गत वर्ष चीनको सिचुवान प्रान्तमा सम्पन्न भएको थियो। यसअघि पहिलोपटक २०७४ मा काठमाडौंमा, दोस्रो संस्करण २०७५ मा चीनमा र तेस्रो संस्करण २०७६ मा नेपालमै भएको थियो। कोरोना महामारीका कारण केही वर्ष अभ्यास रोकिए पनि पुनः निरन्तरता पाएको हो।
रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यका अनुसार यो अभ्यास नियमित कार्यक्रमअन्तर्गत क्षमता विकास र अनुभव आदानप्रदानका लागि गरिँदै आएको हो। उनले भारत, अमेरिका र चीनलगायत मुलुकसँग हुने सैन्य तालिम कसैलाई लक्षित नभएको स्पष्ट पारेका छन्।
यद्यपि चीनसँगको यस्तो अभ्यास र बीआरआई परियोजनासहितका पहलप्रति भारत, अमेरिका र अन्य पश्चिमी मुलुकले चासो व्यक्त गर्दै आएका छन्। नेपाल भने चीनसँगै अमेरिका र भारतसँग पनि नियमित सैन्य अभ्यास गर्दै आएको छ। भारतीय सेनासँग हुने अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्