मस्को – रुसका विदेश मन्त्री सेर्गेई लावरोभले मस्कोलाई युक्रेनको भूभाग कब्जा गर्ने कुनै इच्छा नरहेको तर किभबाट हुने दमनबाट रूसी मूलका र रूसी भाषा बोल्ने समुदायलाई बचाउन चाहेको दाबी गरेका छन्।
एक अन्तर्वार्तामा लावरोभले भने, “हामीलाई भूभागमा कुनै चासो छैन। हामीसँग पृथ्वीमै सबैभन्दा ठूलो भूभाग छ। हामीलाई चिन्ता ती मानिसहरूको हो, जसका पुर्खाहरू शताब्दीयौंदेखि त्यहाँ बस्दै आएका छन्।” उनका अनुसार रुसको उद्देश्य युक्रेनी भूमिबाट आउने सुरक्षा खतरालाई हटाउने र रूसी संस्कृतिसँग सम्बन्धित समुदायको अधिकारको रक्षा गर्ने हो।
लावरोभले २०१४ र २०२२ मा रुसमा सामेल हुन मतदान गरेका युक्रेनका पूर्वी र दक्षिणी क्षेत्रका बासिन्दालाई आफ्नो इच्छा व्यक्त गर्न दिनुपर्ने समेत बताएका छन् । उनले किभले ती जनतालाई आतङ्ककारी भन्दै अमानवीय व्यवहार गरेको आरोप समेत लगाएका छन्।
विदेशमन्त्री लावरोभले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वैधतामाथि पनि प्रश्न उठाएका छन् । उनले जेलेन्स्कीको कार्यकाल एक वर्षभन्दा बढी अघि सकिएको र सैनिक शासन (मार्शल ल) को कारण चुनाव स्थगित भएको स्मरण गर्दै, पुटिनसँग भेट गर्ने उनको प्रस्ताव “छवि चम्काउने खेल” मात्र भएको बताए। “उनी प्रत्येक कुरामा नाटक चाहन्छन्, वास्तविकतामा भने ध्यान दिन्नन्,” लावरोभले भने।
लावरोभले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता अस्वीकार नगरे पनि कुनै पनि सम्झौता युक्रेनका वैध प्रतिनिधिबाट मात्र हुनुपर्ने बताए। उनले जेलेन्स्कीले नाटो सदस्यता र भूभागीय विवादबारे छलफल गर्न अस्वीकार गरेको भन्दै अमेरिकासम्मलाई बेवास्ता गरेको आरोप पनि लगाए।
रुसले कुनै पनि सम्झौता युक्रेनको तटस्थता, निशस्त्रीकरण, नाजीकरण अन्त्य र रुसको नियन्त्रणमा रहेका भूभागको मान्यता जस्ता आधारभूत विषय सम्बोधन गर्नुपर्ने अडान दोहोर्याएका छन् ।
तर किभले भने गुमेको भूभागको मान्यता दिने इरादा नभएको स्पष्ट गरेको छ, यद्यपि मस्कोसँग विवादबारे छलफल गर्न तयार रहेको बताएको छ ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्