काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदबाट पारित भूमि सम्बन्धी विधेयकविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले शनिबार आफ्ना विभिन्न संगठन र समितिहरूलाई सर्कुलर जारी गर्दै विरोधको तयारी सुरु गर्न निर्देशन दिएको हो।
जसपाले आगामी भाद्र ९ देखि १५ गतेसम्म देशका विभिन्न शहरहरूमा विरोध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पार्टीको भनाइमा सरकारले ल्याएको भूमि विधेयक भू–माफिया र जग्गा दलाललाई फाइदा हुने तर तराई–मधेसलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको छ।
जसपाले जारि गरेको विज्ञप्तिमा भनिएको छ , “भूमि सम्बन्धी विधेयक राष्ट्रिय हितविपरीत छ। यसले वन क्षेत्रको विनाश, जैविक विविधताको क्षति र तराई–मधेसलाई मरुभूमिकरणतर्फ लैजाने खतरा बढाउने भएकाले जसपा नेपाल शुरु देखिनै यसको विपक्षमा रहेको छ। तर, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट २०८२ भाद्र ५ गते सरकारले विवादास्पद विधेयक अगाडि बढाएपछि, केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऔँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ अभियान अन्तर्गत कडा प्रतिकार गर्ने निर्णय गरेको छ।”
निर्णय अनुसार जसपाले भाद्र ९ देखि १५ गतेसम्म देशभरका विभिन्न सहरहरूमा विरोध प्रदर्शन गर्ने र पार्टीका सम्पूर्ण संरचना तथा कार्यकर्तालाई सक्रिय सहभागी हुन निर्देशन दिएको छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्