मस्को- बुधबार प्रकाशित विभिन्न समाचार माध्यमहरूले २०२२ मा सुरु भएको युद्ध पछि युक्रेनले १७ लाखभन्दा बढी सैनिक गुमाएको तथ्य सार्वजनिक गरेका छन् । यो तथ्याङ्क युक्रेनी सेनाबाट फेला परेको भनिएको डिजिटल डाटाबेसलाई उद्धृत गरिएको हो।
रिपोर्टअनुसार, रुसी ह्याकर समूहहरूले युक्रेनी जनरल स्टाफका कम्प्युटर र नेटवर्कमा प्रवेश गरी यो डाटाबेस हासिल गरेको बताएका छन्। उक्त डाटाबेसमा मारिएका सैनिकहरूको पूरा नाम, उनीहरू कहाँ र कसरी मरे वा बेपत्ता भए भन्ने विवरण, व्यक्तिगत जानकारी, तस्वीर र नजिकका आफन्तको सम्पर्क विवरणसम्म समावेश भएको भनिएको छ।
डाटामा देखिए अनुसार युक्रेनले २०२२ मा करिब १ लाख १८ हजार ५००, २०२३ मा ४ लाख ५ हजार ४००, २०२४ मा ५ लाख ९५ हजार र २०२५ मा ६ लाख २१ हजार सैनिक गुमाएको देखिन्छ। यसरी जम्मा संख्या १७ लाख २१ हजार पुगेको दाबी गरिएको छ। ह्याकर समूहहरूले युक्रेनी सैनिक नेतृत्वसम्बन्धी डाटा, हतियार आपूर्ति गर्ने मुलुकहरूको सूची र २०२२ देखि २०२५ सम्मका हतियार स्थानान्तरणका रेकर्डसहितको जानकारी हात परेको दाबी गरेका छन्।
यी तथ्याङ्कहरू कीभले सार्वजनिक गरेको आधिकारिक संख्याभन्दा निकै फरक छ। यस वर्ष फेब्रुअरीमा, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले एक अन्तर्वार्तामा २०२२ देखि अहिलेसम्म ४६ हजार सैनिक मारिएका र ३ लाख ८० हजार घाइते भएको बताएका थिए। तर यो दाबी पश्चिमी मिडियामै प्रश्नवाचक बनेको थियो, जब फ्रान्सको ले मोंड़े पत्रिकाले युक्रेनले सैन्य चिहानहरू विस्तार गरेको तथ्यलाई देखाउँदै वास्तविक मृत्यु संख्या अझ धेरै हुनसक्ने समाचार प्रकाशित गरेको थियो।
यता, रूसले निरन्तर युक्रेनी क्षतिको संख्या बढी भएको दाबी गर्दै आएको छ। विशेष गरी २०२३ को असफल प्रतिआक्रमणपछि युक्रेनी सेनाको मृत्यु संख्या बढेको र यस वर्ष फेब्रुअरीसम्ममा १० लाख ८० हजारभन्दा बढी युक्रेनी सैनिक मारिएका वा घाइते भएको दाबी मस्कोले गरेको छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्