अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार अलास्कामा भेट्ने भएका छन्। यो उच्चस्तरीय बैठकको मुख्य उद्देश्य युक्रेन युद्ध र अमेरिका–रूसबीचको व्यापक सम्बन्धबारे छलफल गर्नु हो। बैठक अलास्काको एंकोरेजस्थित जोइन्ट बेस एलमेंडोर्फ–रिचर्डसनमा हुने छ, जुन बेरिङ स्ट्रेट पारि रसियाको सीमाभन्दा केही दर्जन माइल मात्र टाढा पर्छ।
क्रेमलिनका विदेश नीतिका सल्लाहकार युरी उशाकोभका अनुसार यो स्थान ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ। दोस्रो विश्वयुद्धको समयमा लेन्ड–लीज सम्झौताअन्तर्गत विमान पु-याउने क्रममा ज्यान गुमाएका केही सोभियत पाइलट, सैनिक र सर्वसाधारणहरू यही स्थानमा दफन गरिएको छ। उनले यसलाई दुई राष्ट्रबीचको युद्धकालीन सहकार्यको स्मरणीय प्रतीक भनेका छन्।
बैठक ट्रम्प र पुटिनबीच केवल अनुवादकको साथमा हुने वान-टु-वान वार्ताबाट सुरु हुनेछ। त्यसपछि दुवै पक्षका वरिष्ठ अधिकारीहरूबीच पाँच–पाँच सदस्यको विस्तारित बैठक हुनेछ। रुसी टोलीमा विदेशमन्त्री सेर्गेई लाभ्रोभ, रक्षामन्त्री आन्द्रेइ बेलोउसओभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, विशेष दूत किरिल दिमित्रिएभ, उशाकोभ स्वयं, र अन्य विशेषज्ञहरू रहनेछन्। अमेरिकाको टोलीबारे क्रेमलिनलाई जानकारी दिइएको भए पनि वाशिङ्टनले अझै सार्वजनिक गरेको छैन।
क्रेमलिनका अनुसार बैठकको मुख्य केन्द्रबिन्दु युक्रेन युद्धको समाधान खोज्ने प्रयास हुनेछ। साथै व्यापार, आर्थिक सहयोग, र अन्य द्विपक्षीय मुद्दाहरू पनि छलफलमा पर्नेछन्। पुटिनले बिहीबार रुसी अधिकारीहरूसँगको बैठकमा ट्रम्पको वार्ता टोलीले संकटको अन्त्य गरी दुवै देशबीच दीर्घकालीन शान्तिको वातावरण बनाउन चाहेको बताएका छन्।
यस बैठकबाट कुनै आधिकारिक सम्झौता वा दस्तावेजमा हस्ताक्षर भने हुनेछैन। ट्रम्पले यसलाई पुटिनको दृष्टिकोण बुझ्ने “प्राथमिक बैठक” का रूपमा वर्णन गरेका छन्। उनले युक्रेनको समाधानमा रूससँग भू–भागको अदला–बदली पनि हुनसक्ने संकेत दिएका छन् । यधपी, यसको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलिन्स्की र पश्चिमी युरोपेली नेताहरूले कडाइका साथ अस्वीकार गरेका छन्।
पहिल्यै घोषणा भएअनुसार, बैठकपछि दुवै नेता संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुने योजना थियो। तर, ट्रम्पले पछि भने, यदि वार्ता राम्ररी अघि बढेन भने उनी एक्लै पत्रकारहरूसँग कुरा गर्नेछन्।
विशेष कुरा यो हो कि यस शिखर बैठकमा न त युक्रेनी राष्ट्रपति जेलिन्स्कीलाई निमन्त्रणा गरिएको छ, न त प्रमुख युरोपेली नेताहरूलाई।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्