सिओल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी किम केन हीलाई शेयर हेरफेर, घुसखोरी र राजनीतिक हस्तक्षेपलगायतका आरोपमा पक्राउ गरिएको छ। यससँगै देशको इतिहासमा पहिलोपटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुवै जेलमा परेका छन्।
५२ वर्षीया किमले मंगलबार सिओलमा भएको चार घण्टा लामो अदालत सुनुवाइमा सबै आरोप अस्वीकार गरिन्। तर अदालतले प्रमाण नष्ट गर्ने जोखिम देखाउँदै उनलाई थुनामा राख्ने आदेश दिएको हो।
अभियोजन पक्षका अनुसार किमले डच मोटर्स नामक बीएमडब्ल्यू डिलरको सेयर मूल्य हेरफेरमार्फत ८ अर्ब वोन (झण्डै ५७७,९४० अमेरिकी डलर) भन्दा बढी कमाएकी थिइन्।
किममाथि विवादास्पद युनिफिकेशन चर्चबाट दुईवटा सेनायल ब्याग र हीराको हारसहितका विलासी उपहार लिएको आरोप पनि छ। साथै, सन् २०२२ को उपनिर्वाचन र गत वर्षको आमनिर्वाचनमा उम्मेदवार सिफारिसमा हस्तक्षेप गरेको आरोप समेत उनीमाथि लगाइएको छ।
यस वर्ष जुन महिनामा युनका राजनीतिक प्रतिद्वन्द्वी ली जे म्युंग राष्ट्रपति बनेपछि विशेष अभियोजन अनुसन्धान सुरु भएको हो। युनलाई गत जनवरीमा असफल मार्शल ल काण्डमा पक्राउ गरिएको थियो। उनले आफ्नो पत्नीविरुद्ध विशेष अभियोजनको माग गर्ने विपक्षी प्रस्तावित तीन विधेयकलाई भिटो गरेका थिए। अन्तिम भिटो उनले गत नोभेम्बरमा मार्शल ल घोषणा गर्नुभन्दा एक साताअघि दिएका थिए।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्