काठमाडौँ — अब वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि सूचना वा विज्ञापन अनलाइनमा प्रकाशन नगरी मान्य नहुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो अनिवार्य व्यवस्था लागू गरेको हो।
नयाँ नियमअनुसार वैदेशिक रोजगारका लागि प्रकाशन हुने सबै सूचना अब ‘श्रम संसार’ पोर्टल (www.shramsansar.gov.np) र ‘श्रम संसार एप’ मा अपलोड गर्नैपर्नेछ। विभागले मंगलबार सूचना जारी गर्दै सो व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको हो।
यद्यपि, वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र सोही ऐनअन्तर्गत नियमावलीको नियम ७ बमोजिम राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन छाप्नुपर्ने व्यवस्था यथावत् रहनेछ। तर अब त्यो विज्ञापन डिजिटल प्लेटफर्ममा पनि राख्नुपर्ने बाध्यता हुनेछ।
श्रम संसार पोर्टललाई नागरिक एपसँग जोडेर सञ्चालनमा ल्याइएको छ, जसले गर्दा प्रयोगकर्ताहरूले मोबाइलमार्फत सजिलै रोजगार सूचना हेर्न सक्नेछन्। पहिलेजस्तो केवल छापामा मात्र सूचना आएमा डिजिटल माध्यमबाट त्यसको प्रमाणीकरण गर्न समस्या हुने भएकाले अनलाइन प्रकाशनलाई अब अनिवार्य बनाइएको विभागले स्पष्ट पारेको छ।
विभागले वैदेशिक रोजगारमा संलग्न सबै व्यवसायीहरूलाई यो व्यवस्था कडाइका साथ पालना गर्न भनेको छ। सूचना अपलोड नगरे अपूर्ण ठहर्नेछ र यस्तो अवस्थामा नियमअनुसार आवश्यक कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्