गर्मीको मौसम नेपाली समाजका लागि केवल मौसम परिवर्तन मात्र होइन, स्वास्थ्य जोखिम र जीवनशैली परिवर्तनको सन्देश पनि हो । तापक्रमको अत्यधिक वृद्धि, चर्को घाम, अत्यधिक पसिना र पानीको कमीले गर्दा शरीरमा विभिन्न प्रकारका समस्याहरू देखिन सक्छन् । यस्तो अवस्थामा सावधानीपूर्वक शरीरको हेरचाह गर्न सकेमा गर्मी सहज र स्वस्थ तरिकाले पार गर्न सकिन्छ ।
गर्मीमा शरीरमा सबैभन्दा ठूलो समस्या डिहाइड्रेसन अर्थात् पानीको कमी हो । पसिनाबाट शरीरको तरल पदार्थ निस्किएपछि यदि समयमै पूर्ति भएन भने चक्कर आउने, थकान, मुटुको गति असामान्य हुने, र छालाको चमक हराउनेजस्ता लक्षण देखा पर्न सक्छन् । तसर्थ, दिनभरि नियमित रूपमा पानी पिउनु अनिवार्य हुन्छ । तर पानी मात्र पर्याप्त हुँदैन, शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन पनि जरुरी हुन्छ । त्यसका लागि कागती पानी, नरिवल पानी, जौको झोल, लस्सी वा घरमै बनाएको अङ्गुर वा आँपको रस उत्तम विकल्प हुन् ।
खानपानको सन्दर्भमा गर्मीमा ‘लाइट डाइट’ नीति सबैभन्दा उपयुक्त मानिन्छ । यस मौसममा शरीरले गह्रौँ खाना पचाउन गाह्रो मान्दछ । तसर्थ, झोलयुक्त, सुपाच्य र पौष्टिक परिकारहरू खाने बानी बनाउनु अत्यन्त उपयोगी हुन्छ । मौसमी तरकारीजस्तै लौका, करेला, पालुंगो, भिन्डी, टमाटर र काक्रो सेवन गर्नु चिसो प्रभाव दिने भएकाले फाइदाजनक हुन्छ । मौसमी फलहरू जस्तै तरबुजा, खरबुजा, सुन्तला, आँप, किवी, अनार आदिले पानीको मात्रा पनि पूर्ति गर्छन् र शरीरलाई ऊर्जा पनि दिन्छन् ।
यस मौसममा फास्टफूड, अत्यधिक मसलेदार खाना, तेलमा डुबाएर तारेका परिकार वा बासी खाना सेवनले पाचन प्रणालीमा गम्भीर असर पुर्याउन सक्छ । गर्मीमा खाना छिटो बिग्रने भएकाले ताजा खाना खाने बानी बसाल्नु नै राम्रो हुन्छ ।
व्यायाम पनि गर्मीमा अलग तरिकाले गर्नुपर्छ । शरीरलाई सक्रिय राख्न बिहानको छिटो समय वा साँझको समयमा हल्का व्यायाम वा योग गर्न सकिन्छ । अत्यधिक तातोमा दौडनु, जिमको कडा सेसन गर्नु वा पसीना पसिनाले शरीरलाई थकित बनाउनु उपयुक्त होइन । योग, ध्यान, प्राणायामजस्ता अभ्यासहरूले शरीरलाई सन्तुलित मात्र होइन, मानसिक रूपमा पनि शान्त राख्न मद्दत पुर्याउँछन् ।
कपडाको छनोट पनि गर्मीमा महत्त्वपूर्ण भूमिका खेल्दछ । कटन, लिनेनजस्ता सास फेर्न सक्ने, पसिना सोस्ने कपडा उपयुक्त हुन्छन् । शरीर ढाक्ने हल्का र फुस्रो रंगका कपडाले घामको असर कम गर्छन् । सँगै टोपी, सनग्लास र छाता प्रयोग गर्ने बानीले छालालाई घामबाट जोगाउँछ ।
छालाको हेरचाह गर्मीमा अझै संवेदनशील विषय हो । पसिनाले छालामा एलर्जी, फोका, घमौरी, वा फंगल संक्रमणको सम्भावना बढाउँछ । त्यसैले छालालाई सफा राख्ने, चिसो पानीले अनुहार धुने, अत्यधिक घाममा ननिस्कने, सनस्क्रिन प्रयोग गर्ने र नियमित रूपमा नुहाउने बानी आवश्यक हुन्छ । एलोभेरा जेल, गुलाबजल वा घरेलु फेसप्याकहरू पनि छालालाई ताजा राख्न उपयोगी हुन सक्छन् ।
मनोस्वास्थ्यको कुरा गर्दा गर्मीले मानिसमा चिडचिडापन, थकान, अल्छीपन र निन्द्रामा असर पुर्याउने देखिएको छ । यस्तो बेलामा पर्याप्त निद्रा, तरल पदार्थको सेवन, ध्यान वा शान्त संगीत सुन्ने अभ्यासले मनलाई शान्त राख्न सक्छ । शरीर जति स्वस्थ रहन्छ, मन पनि त्यति नै सन्तुलित रहन्छ ।
अन्ततः, गर्मीमा शरीरको हेरचाह गर्नु भनेको केवल बाह्य सावधानी होइन, सम्पूर्ण जीवनशैलीलाई सन्तुलित बनाउने कुरा हो । दैनिक जीवनमा सन्तुलन, अनुशासन र सजगता अपनाउन सकेमा गर्मी कुनै डर वा असहजता होइन, एउटा प्राकृतिक चक्र मात्र बन्न पुग्छ । हरेक मौसमसँग मित्रता गर्न सक्नु नै साँचो जीवनकलाको अभ्यास हो ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्