काठमाडौं – एसीसी यू-१६ इस्ट जोन कप अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै सेमिफाइनल खेल्ने भएको छ। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो।
नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदै अलआउट भयो। भुटानका लागि छिरिङ दावाले सर्वाधिक १४ रन बनाए। उनले ३२ बलमा २ चौका प्रहार गरे। ओपनर उग्यान चोपेलले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। किन्ले छिरिङ ६ रनमा अविजित रहे।
नेपालका लागि बलिङतर्फ कप्तान विपिन प्रसाद शर्माले ४ विकेट लिए। सुयोग भट्टराई र सचिन भट्टले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक १६८ रनको पारी खेले। उनले १३२ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे। रौनक अन्तिम ओभरको चौथो बलमा क्याच आउट भए।
जोए थापा र रौनक श्रीवास्तवले १७० रनको शतकीय साझेदारी गर्दै नेपालको स्कोर ३०० माथि पुर्याउन मद्दत गरेका थिए। जोए थापा ६१ रनमा अविजित रहे। उनले ६८ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा अविजित रहे।
नेपालका ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसी दोहोरो अंकको रन बनाउन नसक्दै पेभेलियन फर्किँदा तेस्रो क्रमका ब्याटर श्रीवान्स बजगाईंले ५४ रनको अर्धशतकीय पारी खेल्दै रनआउट भए। सुगम बुढाथोकीले ३५ रन बनाउँदै क्याचआउट भए।
भुटानका लागि बलिङतर्फ सांगे दोर्जीले सर्वाधिक ३ विकेट लिए तेन्जिङ जम्सोले १ विकेट लिए। नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो।
मलेसिया भने समूह बी को उपविजेता हो। मलेसिया हङकङसँग मात्र पराजित भएको थियो। हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ। सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् भने फाइनल शनिबार हुनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो। प्रतियोगिताको फाइनल खेल जुलाई ५ मा हुनेछ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्