हमासले युद्धविराम सम्झौताको एक भागको रूपमा गाजामा बन्दी बनाइएका चार महिला इजरायली सैनिकहरूलाई रिहा गरेको छ र उनीहरूलाई गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा रेडक्रसका अधिकारीहरूलाई हस्तान्तरण गरेको छ।
शनिबार बन्दीहरूको दोस्रो रिहाइको बदलामा, इजरायलले इजरायली जेलमा रहेका २०० प्यालेस्टिनीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ।
रिहाइ हुनुभन्दा अगाडि, नकाबधारी हमास र इस्लामिक जिहादका दर्जनौं लडाकुहरू स्क्वायरमा भेला भए जहाँ प्यालेस्टिनीहरूको ठूलो भीड पनि जम्मा भएको थियो। सयौं हमास सदस्यहरूका साथै प्यालेस्टिनी इस्लामिक जिहाद सहित अन्य प्यालेस्टिनी गुटहरू पनि उक्त स्थानमा उपस्थित थिए ।
रिहाइ हुनुभन्दा अगाडि रेडक्रसका प्रतिनिधिहरू र एक हमास लडाकुले कागजातहरूमा हस्ताक्षर गर्दै बन्दीहरुलाई रिहा गरेका हुन् ।
हमासले रिहा गरेको चार महिला इजरायली सैनिकहरूमा करिना रिभ, डेनिला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।
सम्झौताको एक भागको रूपमा, इजरायली सेनाहरू नेत्जारिम करिडोरबाट पनि पछि हट्ने अपेक्षा गरिएको छ, जसले गर्दा लाखौं विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा आफ्नो घर फर्कन सक्नेछन्।
इजरायलले थप मानवीय सहायता र अन्य व्यावसायिक आपूर्तिहरू प्रवेश गर्न दक्षिणमा रहेको रफाह सीमा पार गर्न दिने अपेक्षा समेत गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्