माघ १२, काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै विभागीय टोली एपीएफले उपाधि जितेको छ । यो सहित एपीएफले महिला पीएम कप सातौंपटक जित्न सफल भएको छ ।
एपीएफले सुदूरपश्चिमलाई फाइनलमा ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्न सफल भएको छ ।
एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाउन सफल भए भने कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् । ।
यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३/२४ मा उपाधि जितेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्