बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ ।
सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा लगिएको रकमबाट कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेकी पत्नी निकिता पौडेलको नाममा समेत भुक्तानी गरिएको पाइएको छ । रूपन्देही जिल्ला अदालतमा आइतबार दायर पूरक अभियोजनमा सहकारीबाट लगिएको रकमबाट निकितालाई ३५ लाख चेकबाट र ९ लाख ९९ हजार नगद दिएको उल्लेख छ ।
लामिछाने प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियाको नाममा सिद्धार्थ बैंकमा खोलिएको खातामा सुप्रिम सहकारीबाट २ करोड २० लाख रकम जम्मा गरिएको थियो । उक्त खाताबाट निकितालाई रकम दिएको देखिएको अभियोगपत्रमा उल्लेख छ । अभियोगपत्रअनुसार निकिताले सन् २०२० सेप्टेम्बर २७ मा खाता नं. ०२४१५२०७२३१ बाट ३५ लाख र लगत्तै सेप्टेम्बर २९ मा गोर्खा मिडियाका पूर्वप्रबन्धक लक्ष्मीप्रसाद पौडेलबाट ९ लाख ९९ हजार नगद लिएकी थिइन् ।
‘गोर्खा मिडिया नेटवर्कको नाममा सिद्धार्थ बैंक लिमिटेडमा खोलिएको खाता नं. ००११५९७८०९७ मा लक्ष्मीप्रसाद पौडेल, छविलाल जोशी र गितेन्द्रबाबु राईसमेत सञ्चालक रहेको र उक्त खातामा २ करोड २० लाख सहकारीको बचत रकम अपचलन गरेर जम्मा गरी/गराई गोर्खा मिडिया नेटवर्कमा प्रारम्भिक रूपमा लगानी गरेको देखिन्छ,’ र सोही रकमबाट यी प्रतिवादी (रवि लामिछाने) को श्रीमतीलाई भुक्तानी दिन लगाई लिई खाएको देखिन आएबाट सहकारीको बचत अपचलन गर्ने कार्यमा संलग्नता पुष्टि हुन्छ ’,अभियोगपत्रमा उल्लेख छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्