काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन् ।
परराष्ट्रमन्त्री राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले विपिनको अवस्था बारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन् ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजार बढी व्यक्तिको हत्या गरेको थियो । त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरेकोमा विपिन जोशी पनि छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्