विराटनगर — बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमाले नेता ध्रुव कुमार शिवाकोटीलाई नाबालिका करणी आरोपमा झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
१६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटीलाई मंसिर २४ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई बीएन्डसी अस्पतालमा राखिएको थियो। शिवाकोटीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेको छ । घरमा काम गर्ने बालिकामाथि बलात्कार आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा गत आइतबार जाहेरी दिएको थियो ।
आयोगमा दर्ता भएको उजुरी अनुसार पीडित १६ वर्षीया किशोरीलाई शिवाकोटीले विगत तीन वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको उल्लेख छ । कमजोर आर्थिक अवस्था भएकी बालिकालाई शिवाकोटीले ८ वर्ष अघि स्कुल पढाइदिने र घरमा काम पनि सघाउने सर्तमा घरेलु कामदारको रुपमा राखेका थिए ।११ कक्षामा पढ्दै गरेकी उनी मंसिर २४ गते बिहानै स्कुल पोसाकमै भारततिर जाँदै थिइन् । त्यही क्रममा चेलीबेटी बेचबिखन नियन्त्रणका लागि सीमामा तैनाथ आफन्त नेपालका कर्मचारीले उनलाई नाकामा रोकेर सोधपुछ गर्दा शिवाकोटीको कर्तुत बाहिर आएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्