राइड सेयरिङ नियमनका लागि कानुन बनाउन सर्वोच्चको आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • January 2, 2025
pathao

काठमाडौँ- सर्वोच्च अदालतले राइड सेयरिङ एप नियमनका लागि आवश्यक कानुन तर्जुमा गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ।

राइड सेयरिङ एप पठाओको दर्ता खारेजीको माग गर्दै ६ वर्षअघि सर्वोच्च पुगेका अधिवक्ता श्यामकुमार श्रेष्ठको रिटको सुनुवाइपछि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाले दिएको आदेशको पूर्णपाठ सर्वोच्चले सार्वजनिक गरेको छ ।

आदेशमा पठाओ नेपाल प्रालि कानुनअनुसार कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभागमा दर्ता भएको, यसको कानुनी व्यक्ति देखिएको र कानुनी व्यक्तिको दर्ता खारेज गर्ने वैकल्पिक उपचारको मार्गप्रशस्त हुँदाहुँदै रिट अधिकार क्षेत्रबाट दर्ता खारेज गर्न नमिल्ने सर्वोच्चले खुलाएको छ।

रिटले मागेबमोजिम आदेश जारी गर्न नमिल्ने सर्वोच्चको ठहर छ। सोसँगै उक्त रिट सर्वोच्चले खारेज गरी सरकारलाई राइड सेयरिङजस्ता यातायातसम्बन्धी व्यवसायको सम्बोधनका लागि यथाशक्य चाँडो पर्याप्त कानुनी प्रबन्ध गर्न आदेश दिएको छ।

निर्देशनात्मक आदेशमा भनिएको छ, ‘विपक्षी पठाओ नेपाल प्रालिजस्ता मोबाइल एपबाट सञ्चालन भएका राइड सेयरिङको सम्बन्धमा कम्प्युटरसम्बन्धी सेवा प्रदान गर्ने कानुनी व्यक्तिले तोकिएअनुसार शर्त माने नमानेकोबारे निरन्तर अनुगमन गर्नू गराउनू भनी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग र यातायात व्यवस्था विभागको नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ।’

सर्वोच्चले राइड सेयरिङ सेवालाई रोजगारीको हक, उपभोक्ताको हक तथा उद्यमशीलता र आर्थिक समृद्धिसँग आबद्ध गरेर हेरिनुपर्ने जनाएको छ। वर्तमान समयमा यस सेवासंग ठूलो मात्रामा चालकको रुपमा रोजगारी र सेवाग्राहीको रुपमा यात्रीको सिधा सम्बन्ध कायम भएको देखिएको पनि सर्वोच्चले आदेशमा भनेको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५