काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका समस्या समाधान र केही परिवर्तन गर्न नयाँ सरकार बनेको बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा उनले आफू प्रधानमन्त्री भइसकेकाले पदका लागि मात्रै नफर्केको स्पष्ट पारे ।
‘वर्तमान सरकारको मुख्य लक्ष्य विद्यमान समस्या समाधान र अर्थतन्त्रलाई मजबुत बनाउने हो, म प्रधानमन्त्री बन्न मात्रै आएको होइन, देशका समस्या समाधान गरेर परिवर्तनका लागि काम गर्ने संकल्प लिएर आएको हुँ । निजी क्षेत्रले यो सरकारमा आशा र भरोसा राख्नुपर्छ र मिलेर काम गर्नुपर्छ,’ उनले भने ।
करको दरलाई आँखा चिम्लिएर परिवर्तन गर्न नहुने र गलत नीति अवलम्बन गर्दा निजी क्षेत्रले विरोध गर्न सक्ने धारणा राख्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान राख्न मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिएका छन् ।
सो अवसरमा अध्यक्ष राजेशकुमार अग्रवालले सुस्त अर्थतन्त्रलाई उकास्न उच्च प्राथमिकताका साथ काम गर्न सरकारलाई आग्रह गर्दै, सुस्त अर्थतन्त्रलाई मौद्रिक नीतिमार्फत सार्थक बनाउनुपर्ने बताएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्