काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व शान्ति कायम गर्न द्वन्द्वरत पक्षबीच वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।
इजुमी नाकामित्सुको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले नेपाल सधैं विश्व शान्तिको पक्षमा रहेको बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वका अन्य मुलुकका लागि उदाहरण बनेको बताए ।
विश्व शान्तिका लागि वार्ता नै एक मात्र विकल्प भएकोमा जोड दिँदै उनले भने, ‘विश्वका धेरै क्षेत्र अझै पनि संवेदनशील अवस्थामा छन् । रुस–युक्रेन युद्ध र इजरायल र हमास युद्धलगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेको छ । वार्ताको माध्यमबाट द्वन्द्वको समाधान खोज्नुपर्छ ।”
प्रधानमन्त्रीले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालले खेलेको उल्लेखनीय भूमिकाको स्मरण गर्नुभयो ।
संयुक्त राष्ट्रसंघको महासभामा अतिकम विकसित मुलुकको नेताको हैसियतमा नेपालले खेलेको भूमिकाबारे चर्चा गर्दै प्रधानमन्त्री दाहालले शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको प्रयासमा नेपालले सदैव सहयोग गर्ने र विश्व शान्तिमा अग्रणी भूमिका खेल्ने बताए ।
“विश्व शान्ति र निशस्त्रीकरणका लागि संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ। हामी संयुक्त राष्ट्र संघको हरेक पाइलामा साथमा छौं र भविष्यमा पनि यस्तै रहने प्रतिबद्धता व्यक्त गर्दछौं,” उनले भने।
उपमहासचिव तथा निशस्त्रीकरण मामिलाका उच्च प्रतिनिधि नाकामित्सुले निशस्त्रीकरण मामिलासम्बन्धी दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना भएको र नेपाल दक्षिण एसिया क्षेत्रमा शान्तिको केन्द्र बन्ने अपेक्षा गरिएको बताए ।
“नेपाल आफ्ना आणविक हतियारधारी छिमेकीहरूका बीचमा शान्ति केन्द्र बनोस् भन्ने अपेक्षाका साथ केन्द्रको स्थापना भएको हो। विगतमा जस्तै नेपालले प्रभावकारी रूपमा क्षेत्रीय र विश्व शान्तिका लागि भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।”
सो अवसरमा इजुमीले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपालले सेना पठाउने दोस्रो ठूलो राष्ट्रका रूपमा खेल्दै आएको भूमिकाको पनि प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्ना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्