श्रावण २१ , चितवन -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानले सञ्चालन गरेको ब्लु बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ ।
सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ (४) को हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्वन्धी व्यवस्थाको उपदफा १० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति प्राप्त वर्कसपबाट मात्र गर्ने गरी स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । सोही नियमावलीमा सवारीमा कुनै हेरफेर गर्न तोकिएको ढाँचाको फर्म भरेर निवेदन दिएपछि प्राविधिकहरूले आवश्यक जाँच गरेर मात्रै अनुमति दिने भनिएको छ । तर रास्वपाले महिलाको लागि निशुल्क भनेर चितवनमा सञ्चालन गरेको ब्लु बस,रंग परिवर्तनका लागि अनुमति नलिएको कारण नियमानुसार जरिवाना तिरेर अनुमति लिनुपर्ने र जाँचपास गराउनुपर्ने यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ।
मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी भाडामा लिइएको ‘ब्लु बस’ भिमबहादुर तामाङको नाममा छ । ३२ सिटे बस दिनहुँ शक्तिखोरदेखि भरतपुरका विभिन्न ठाउँमा घुम्ने र महिलाहरूलाई निःशुल्क सेवा दिने गरेको छ । बसमा यात्रुले रास्वपा सभापति रवि लामिछानेको फोटोसहितको कार्ड लिएपछि मात्रै यात्रा गर्न पाउने व्यवस्था गरिएको छ ।
मोबाइल क्लिनिकको नाममा चलाएको एम्बुलेन्स फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई फिर्ता गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेले पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र एम्बुलेन्स’ लेखेको मेटाएर मापदण्ड विपरित मोबाइल क्लिनिक चलाएको भन्दै विवादमा परेपछि उक्त सवारी साधन मेडिकल कलेजलाई फिर्ता गरेको हो।
भारतीय दूतावासले आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेजलाई दिएको उक्त एम्बुलेन्सको पनि रंग परिवर्तनको लागि अनुमति नलिइ रंग परिवर्तन गरिएको र एम्बुलेन्सको रुपमा पालना गर्नुपर्ने न्युनतम मापदण्ड पनि पालना नगरेको बुझिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्