श्रावण २०,झापा- कर्तव्य ज्यान मुद्दामा झापा कारागार भद्रपुरमा कैद भुक्तान गरिरहेका कैदी मनोज लावतीलाई झुम्का कारागार सरुवा गर्न खोज्दा शुक्रबार करीब ३ घण्टा झापा कारागारको स्थिति तनावपूर्ण बनेको थियो ।
कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्न कारागार प्रशासनले बाहिर निकालेर हत्कडी लगाएपछि लावती चिच्याएका र त्यसपछि कारागारभित्रका कैदीबन्दीले आगजनी र ढुंगामुढा गरेका बताइएको छ ।
कैदीबन्दीले ढुंगा प्रहार गर्दा प्रशासनको भवनमा क्षति पुगेको छ । भवनका सबै झ्यालका सिसा फुटेका छन् भने कैदी बोक्ने गाडीमा पनि क्षति पुगेको छ । कार्यालय अगाडि पार्किङ गरेर राखिएका दुईटा मोटरसाइकलमा समेत क्षतिपुगेको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।
झापा कारागारका चौकीदार लय शिवाकोटीको चलखेलका कारण लावतीलाई झुम्का कारागार सरुवा गर्न खोजिएको कैदीबन्दीहरुको आरोप छ । शिवाकोटीसमेत कर्तव्य ज्यान मुद्दामा करिब ७ वर्षदेखि कैद भुक्तान गरिरहेका कैदी हुन् । उनी आर्थिक वर्ष २०७९/८० का चौकीदार हुन् ।आर्थिक वर्ष २०८०/८१ को लागि लावतीको नाम सिफारिस गरिएको तर शिवाकोटीको चलखेलमा कारागार व्यवस्थापन विभागको सरुवा गर्ने निर्णयले उनी चौकीदार हुन पाएनन् । लावतीको पक्षमा कैदीबन्दीले आन्दोलन गरेपछि लावतीको सरुवा रोकिएको छ र कारागार प्रशासन र कैदीबन्दीहरुको सल्लाहबमोजिम आगामी चौकीदारका लागि कैदीबन्दी भरत सार्कीको नाम सिफारिस गर्ने सहमति जुटेको छ ।
लावती पक्षका कैदीबन्दीहरुले कारागारका चौकीदार शिवाकोटीलाई कोठाभित्र थुनेर कारबाही गरेका छन् । कारबाहीमा परेका चौकीदार शिवाकोटीले सुरक्षा खतरा बढेको भन्दैकारागार प्रशासन समक्ष आफ्नो सरुवाको माग राखेका छन् ।
७ सय कैदीबन्दी क्षमताको झापा कारागारमा अहिले ८४ महिलासहित १ हजार ५ सय ४८ कैदीबन्दी रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्