वैशाख १० , चितवन । चितवनमा जारी उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै चितवन क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले चितवन क्षेत्र नं. २ मा, मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।
रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि करिब २ घण्टा मतदान अवरुद्ध भएको थियो । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गर्दै चार बुँदे समझदारी गरेपछि मतदान सुरु भएको थियो ।
समझदारीमा भनिएको छ , ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’
त्यस्तै, मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षा कायम गर्ने निर्णय पनि भएको छ । आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने निर्णय पनि गरिएको छ ।
नयाँ किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण उल्लेख गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्