उपनिर्वाचन : बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार बन्द

  • नेपाल राष्ट्रिय दैनिक
  • April 20, 2023
nirwachan aayog

वैशाख ७-काठमाडौँ — यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको र होही अनुरुपको कार्य गर्न गराउन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ ।

यही वैशाख १० गते आइतबार बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी चैत २४ देखि वैशाख १० गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न हुँदैन ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५