अब पात्रो होइन देश फेरिनु पर्छ

  • नेपाल राष्ट्रिय दैनिक
  • १ बैशाख २०८०, शुक्रबार ०६:१३
FB IMG 1568549964939

आज बाट नयाँ वर्ष विक्रम संवत २०८० प्रारम्भ भएको छ। नेपालीहरुले आजको दिनलाई नव वर्ष प्रारम्भ भएको दिनको रुपमा हर्षका साथ मनाउने गर्दछन्। सुख र सम्वृद्धिको कामना सहित एक अर्कालाई शुभकामना आदान प्रदान गर्ने गर्दछन। 

आजको दिन एउटा नयाँ वर्ष र नयाँ दिनको मात्र सुरुवात नभएर सिङ्गो एउटा दशकको नविनतम सुरुवात हो।  आजको दिनले नेपाल र नेपालीकोलागि एउटा अर्को नयाँ युगको सुरुवात गरेको छ। तर हरेक नयाँ दिनको सुरुवात गर्दै गर्दा हामीले हाम्रो गर्बिलो इतिहासलाई भने भुल्नु हुंदैन। विगतदेखि आजको दिनसम्म आइपुग्दा हामीले गरेका हरेक राम्रा र नराम्रा क्रियाकलापहरुको समिक्षा गर्नु जरुरि देखिन्छ। 

भन्दा र सुन्दा आदर्शका खोक्रा कुराहरुजस्तो सुनिन सक्छ।  तर हामि आज यस्तो घडी, यस्तो मोडमा आएर उभिएका छौँ कि अब फेरी एकपटक  “देशले हामीलाई के दियो होइन, देशका लागि हामीले के दियौं र के गर्यौं ” भनेर आत्मसमीक्षा गर्ने बेला आएको छ। 

दुखका साथ भन्नुपर्छ, आज देशका अधिकांश युवा, प्लस टु पास गरेपछि पासपोर्ट बोकेर कन्सल्टेन्सी धाउनु देशको लागि दुर्भाग्य हो।  घर परिवार र देश छोडेर  विदेशिनु सिमित एउटा वर्गको लागि नितान्त रहर होला, तर अधिकांशको लागि भने त्यो बाध्यताले सिर्जना गरेको रहर हो भन्दा अन्यथा नहोला।  घर परिवारबाट टाढा बसेर सिङ्गो जवानी विदेशमा खर्च गर्दै गर्दा, एउटा युवाले आफ्नो देश प्रतिको जिम्मेवारी  पुरा गर्न सफल होला- नहोला तर नेपालमा आफ्नो श्रीमती,छोरा-छोरी र बाबु आमाको खर्च भने पक्कै पुरा गरेको छ। भ्रष्टाचार र त्यसमाथि ब्यापार घाटाले थिलो थिलो भएर कर्मचारीलाई तलबसम्म खुवाउन नसकेको देशलाई रेमिट्यान्सले थेगी रहेको छ। तर मिठो खाने र राम्रो लगाउने आशामा,आकाशमा उडेर गएका देशका ति होनाहार युवाहरु दिनदिनै बाकसमा फर्किनु देशको लागि दुर्भाग्य हो।

पछिल्लो केहि दशक यता देशमा धेरै तन्त्रहरु फेरिए। प्रजातन्त्र फेरिएर लोकतन्त्र बन्यो, राजतन्त्र फेरिएर देश गणतन्त्रमय भयो। एउटा राजा फालेर कैयन छोटे राजाहरुले जन्म लिए।  यतिसम्मकी यहाँ राजमार्गहरु फेरिएर लोकमार्ग भए, तर देश र जनताको अवस्था फ़ेरिएन।  शाशक फेरीए तर शाशन व्यवस्था फ़ेरिएन। देश र जनताकोलागि लडेका भन्नेहरुको जीवनस्तर बदलियो ।  एक सरो कमिज र प्याट-प्याट गर्ने चप्पल पड्काएर सिंहदरबार छिरेका स्यालहरु आज करोडौँको मालिक बने,तर आज शरीर पाल्नकै निम्ति शरीर बेच्नेहरूको जीवनस्तर सुधारिएन। राजाले जनातालाई रैती बनाएकोमा विरोध गर्नेहरुले आज तिनै जनतालाई दासी बनाएर राखेका छन्।

राजनीति सेवा केन्द्रित नभएर सत्ता र स्वार्थ केन्द्रित बनेको छ।  अनुदान र ऋण मागेर कर्मचारीको तलब भत्ता जोहो गर्नुपर्ने निकै दयनिय स्थितिमा देश चलिरहेको छ।  देशको संवैधानिक अंग पक्षघात भएर थलिएको छ। न्यायपालिका अन्याय र अत्याचारको सिरक ओडेर सुतेको छ। प्रशाशनिक निकायहरु पार्टीको कार्यकर्ता भर्ति गर्ने थलो बनेको छ। सिमानाका पिल्लरहरु दिनानुदिन हराउँदै गर्दा पनि सम्बन्धित निकाय कानमा तेल हालेर मस्तसंग सुतेको छ।  अपराधका घटनाहरु दिनप्रतिदिन बढिरहेको छ।

अझ डरलाग्दो कुरा त के छ भने, अहिले देशमा सच्चा जनता भेट्न मुस्किल छ, जति सजिलै यहाँ पार्टीका कार्यकर्ता भेटिन्छन्। यस्तो लाग्छ नेपालीहरु यो देशको नागरिक कम पार्टीका कार्यकर्ता हुन्। अझ बिडम्बनाको कुरा त के हो भने , “बा ” को विरोध गरेर राजनीतिमा उदाएका युवापुस्ता, जसले अब त केहि सकारात्मक परिवर्तन गर्छन कि भन्ने लाग्थ्यो, त्यो सिंगो युवा जोस पनि अहिले त “बा” को दौराको फेर समातेर उही पुरानै गितमा लय मिलाएर गुनगुनाउन थालेको छ।

समग्रमा २०४७ साल यता देशमा धेरै परिवर्तनहरु भए।  तर ति परिवर्तनहरुले न देशको अवस्थाको सम्बोधन गर्न सक्यो नता जनताको मर्मलाई बुझ्न सक्यो। यो बीचमा हामीले धेरै नयाँ पात्रोहरु बदल्यौं, पात्र बदल्यौं तर प्रवृति बदल्न सकेनौँ।  अब यो नयाँ वर्ष, यो नयाँ दशकले आम  नेपालीको प्रवृति पनि बदलियोस। राजनीति गर्नेहरुलाई सद्बुद्धि मिलोस । सहिलाई सहि र गलतलाई गलत भनेर, सत्यको समर्थन गर्दै, गलत प्रवृतिको विरोध गर्ने साहस आम नागरिकलाई मिलोस। भ्रष्टाचार र अपराधिक क्रियाकलापहरुको अन्त्य होस्।  देशमा सुशाशन कायम रहोस।  देश आर्थिक रुपमा सबल बन्दै जाओस।  शरीर  पाल्नकै निम्ति शरीर बेच्नुपर्ने दिनको  अन्त्य होस्।  घर- परिवार पाल्नकै निम्ति घर परिवार छोडेर बिदेशिनु पर्ने दिन नआओस।हाम्रो धर्म, हाम्रो कला र संस्कृतीको जगेर्ना गर्ने उत्साह सबै नेपालीमा बढोस। सिमानाका पिल्लरहरु नहराउन र देशले आफ्नो सिमाना भेटोस। हरेक नागरिकलाई देशप्रतिको आस्था बढेर जाओस। अबको यो नयाँ साल, यो नयाँ दशकमा पात्रो मात्र होइन यो देश पनि फेरियोस।  

नव वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना !
नेपाल राष्ट्रिय दैनिक
देश र जनताको लागि

   

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५