एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालद्वारा पार्टी परित्याग

  • नेपाल राष्ट्रिय दैनिक
  • October 8, 2022
ghanshyam bhushal

एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ ।

आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै,पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको भूसालले बताउनुभएको छ।

सिङ्गो पार्टी के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले कैदी हुन पुगेको र पार्टीको गौरवलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै पनि आफुले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको नेता भूसालले बताउनुभएको छ।

२०७४ सालमा रुपन्देही-३बाट उम्मेदवार बनेका भुषालको नाम यसपटक रुपन्देही १ र रुपन्देही ३ बाट सिफारिस भएको थियो । तर उक्त क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने निर्णय गरेपछि भूसाल पार्टीको उम्मेदवारको सूचीमा पर्न सकेनन्। त्यसो त ओलीले आफुसंग वैचारिक मतभेद राख्ने पार्टीका भिम रावल लगायत कसैलाई पनि यसपटक उम्मेदवारको सूचीमा राखेका छैन्नन।

पाँच दलीय गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेद्वारीको तयारी
एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका भुषालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी सुरु गरेको बताइएको छ। भुषाललाई सो क्षेत्रमा सत्तारुढ पाँच दलीय गठबन्धनले सघाउने बुझिएको छ। सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा माओवादी केन्द्रले भुषाललाई सघाउन सकारात्मक रहेको बताइएको छ ।

फेसबुकमा सार्वजनिक भूसालको पार्टी परित्यागको घोषणा :


देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु ।
कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।
घनश्याम भूसाल
मणिग्राम, रुपन्देही
२०७९ असोज २२

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५