प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा सरकारले सबैको साथ पाउने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
उहाँले,निर्वाचनले देशमा लोकतान्त्रिक विधि र माध्यमबाट शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण सुनिश्चित गर्छ भने अर्कोतर्फ हाम्रो संविधानलाई जिवन्त बनाउन मद्दत गर्ने पनि बताउनुभएको छ। प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढेको र मुलुकमा युगान्तकारी राजनीतिक परिवर्तन पूरा भइसकेकाले अब संस्थागत गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
वीर सहिदहरुको अधुरा सपना पूरा गर्ने र समृद्ध नेपाल बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको भन्दै,निर्वाचनलाई अवसरका रूपमा सदुपयोग गरेर जति सक्दो चाँडो हरेक नेपालीको घरघरमा समृद्धि र सुशासन पुर्याउन हामी सबैले इमान्दारिताका साथ काम गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्