वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिनुभएको छ ।
राष्ट्रिय सभाले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको र सो कार्य संघीयता र संविधान विरोधी भएको भन्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बताउनुभएको हो ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले हेटौंडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक कार्यक्रममा बोल्दै, राष्ट्रिय सभाले संविधान र संघीयताको विरुद्धमा गएर विधेयक पारित गरेको र संघीयता विरोधी विधेयक पारित गर्ने राष्ट्रिय सभालाई संघीयता कार्यान्वयनको बारेमा छलफल गर्दै हिँड्ने अधिकार नभएको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ।
विधेयकमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा र यातायातको जिम्मा संघीय सरकारलाई दिने उल्लेख गरिएकोप्रति आपत्ति जनाउँदै,काठमाडौँ ,ललितपुर र भक्तपुरलाई छुट्टै प्रदेश बनाउन खोजिएको हो?भन्दै, मुख्यमन्त्री पाण्डेले प्रश्न समेत गर्नुभएको छ।
प्रदेश सरकारले उपत्यकाका ३ जिल्लालाई सुरक्षा दिन सक्दैन भनेर त्यसो गरिएको हो भने, के प्रदेशका बाँकी १० वटा जिल्ला सुरक्षित हुनु नपर्ने ?,भन्ने प्रश्न समेत मुख्यमन्त्री पाण्डेले उठाउनु भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्