शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९३१ मा जन्मेका गोर्बाचोभ, सन् १९८५ मा सोभियत संघको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिव बनेपछि सोभियत संघलाई विश्वका लागि खुला गरी सुधारको एउटा नयाँ आयाम प्रस्तुत गर्न सफल रहेका थिए । त्यतिबेला उनी सत्तारुढ परिषद्को सबैभन्दा कान्छो सदस्य थिए । गोर्बाचेभ सोभियत संघको पहिलो र एकमात्र निर्वाचित राष्ट्रपति हुनुहुन्थ्यो।
सन् १९९१ को अगस्टमा उनको विरुद्धमा गरिएको कूको प्रयास असफल भए पनि गोर्बाचेभको वर्चस्व लामो समयसम्म टिक्न सकेन। उनले सोभियत संघको पतन रोक्न सकेनन्, जसबाट आजको आधुनिक रूसको उदय भयो। सन् १९९१ को डिसेम्बरमा, सोभियत गणतन्त्र रूस, युक्रेन र बेलारुसका नेताहरूले बेलोभेज सम्झौतामा हस्ताक्षर गरेर बहुसंख्यक नागरिकहरूको इच्छा विपरित सोभियत संघलाई विघटन गरिएको थियो।
“पूर्व-पश्चिम सम्बन्धमा आमूल परिवर्तनमा उनले खेलेको प्रमुख भूमिकाका लागि”उनलाई नोबेल शान्ति पुरस्कार समेत प्रदान गरिएको थियो।
सोभियत संघ,अमेरिका र बेलायत लगायत पश्चिमी राष्ट्रहरू बीचको गहिरो तनावको समयमा पनि शीत युद्धको अन्त्यको लागि मार्ग सिर्जना गरेको भन्दै उनलाई पश्चिमाहरुले सुधारको वास्तुकारको रुपमा व्याख्या गर्ने गरेका छन्।
धेरै प्रख्यात रूसीहरूको अन्तिम संस्कार गरिएको मस्कोको नोवोडेभिची कब्रिस्तानमा,उनकी पत्नी राइसाको छेउमा नै उनको पार्थिव शरीरलाई राखिनेछ।
इतिहासको धार बदलेको भन्दै विश्वभरबाट उनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल गोर्बाचेभको निधनमा उहाँका परिवार र साथीभाइप्रति “गहिरो समवेदना” व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मिखाइल गोर्बाचेभको निधनमा उनको परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै, सुरक्षित संसार र लाखौं मानिसहरूको स्वतन्त्रताको लागि आफ्नो सम्पूर्ण करियर जोखिममा पारेर इतिहास कायम गरेको भन्दै उनको प्रशंसा गरेका छन् । उनले मिखाइल गोर्बाचेभलाई “उल्लेखनीय सोच र दुर दृष्टि भएको व्यक्ति” भनेर समेत वर्णन गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्