प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिइएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई सिट बाँडफाँड बारे साझा धारणा तय गर्न निर्देशन दिएको छ। बैठकमा सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए भने कार्यदलमा भएको छलफलमा शीर्ष नेताहरूले समेत आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
कार्यदलमा भएको छलफलको प्रगति विवरण सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिर्ष नेताहरुले नै सिट बांडफांड बारे कार्यदललाई अन्तिम रुप दिन निर्देशन गरेको बताउनुभएको हो ।
यस अघि नै सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल निर्माण गरिएको थियो भने, सो कार्यदलले शिर्ष नेताको चुनावी क्षेत्र,२०७४ को निर्वाचनमा प्राप्त प्रत्यक्ष र समानुपातिकको मत परिणाम र २०७९ को स्थानिय निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँड गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ ।
कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्