वैदिक सनातन धर्म र संस्कृती अनुसार हिन्दु धर्मावलम्बीहरुले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी), रक्षाबन्धन पर्व मनाउने गरेका छन्। आज देशभरका विभिन्न मन्दिर र तिर्थस्थलहरुमा मेला लाग्ने गरेको छ। आजको दिन नजिकैको तिर्थस्थल,नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट जनै तथा डोरो धारण गर्ने गरिन्छ। यसरि आजको दिनमा धारण गरेको जनै र पुरोहितले,” येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल” भन्ने मंत्रोच्चारण गरेर नाडीमा बाँधीदिने डोरोले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई दानवहरुबाट रक्षा गर्न गुरु वृहस्पतिले डोरो बाँधिदिएको भन्ने पौराणिक कथन पनि रहेको छ। आजको दिन नाडीमा बाँधेको डोरो, गाई तिहारका दिन गाइको पुच्छरमा बांधिदिनाले वैतरणी पार गरिने विश्वाश पनि रहिआएको छ।
येन बद्धो वलीराजा दानवेन्द्रो महावलस्
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल
अर्थात्:
“जुन रक्षा (काँचो धागोबाट बनेको डोरो )ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।”
बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म गरेका ब्राह्मण र क्षत्रिय पुरुषहरूले आजको दिन जनै फेर्ने प्रचलन रहेको छ। जनैमा रहने दुई वटा शिखाका छ वटा डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । जनै फेरेर अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा-आराधना गरी तर्पण दिने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।
आज दिदीवहिनीहरुले आफ्ना दाजु-भाइको दिर्घायू र सफलताको कामना गर्दै हातको नाडीमा रक्षा बन्धन अर्थात राखी लगाईदिने चलन पनि रहेको छ । विशेष गरि नेपालको तराई क्षेत्रमा राखीको महत्त्व बढी रहेको छ ।
आजको दिन, दुई दिन अघिदेखि पानीमा भिजाई राखिएको ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, केराउ, चना, सिमी, बोडी,राजमा र बकुल्लो लगायतका गेडागूडिहरु ) टुसा उमारेर पकाएर क्वाँटी बनाएर खाने गरिन्छ। यसरी विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने र शरीर स्वस्थ र बलियो रहने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता पनि रहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्