आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। आज बसेको गठबन्धन दलका शिर्ष नेताहरुबीचको बैठकले सहमति अनुसार भाद्र पहिलो हप्तासम्म सिट बाँडफाँडको टुंगो लगाउने जानकारी दिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको आजको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय समिति समेत गठन गरेको छ। समितिमा कांग्रेसका कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा रहेका छन् भने नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन समितिमा रहेका छन्। त्यसैगरी,नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन् भने,राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा समितिमा रहेका छन्।
सो समितिलाई भाद्र महिनाको पहिलो साताभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दीइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्