सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले श्रावण ९ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु निम्नानुसार रहेका छन्।
- गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्विट्जरल्यान्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन करिब ९५ करोडबराबरको अनुदान सहायता स्वीकार गर्ने ।
- सबैको लागि दिगो खानेपानी तथा सरसफाइ सस्टेनेबल वास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिब १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने ।
- उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न, म्याद थपसम्बन्धी समयभित्र निवेदन दिन नसकी म्याद थप हुन नसकेका तर भौतिक संरचना निर्माणलगायतको कार्य गरिरहेका वा सञ्चालनमा आइसकेका उद्योगले म्याद थपको लागि निवेदन दिएमा उद्योग स्थापनाका लागि गर्नुपर्ने निर्णय कार्यलगायत कामको प्रगति र उद्योगको प्रकृति हेरी प्रचलित कानुनबमोजिमको विलम्ब शुल्क लिई उद्योग दर्ता गर्ने निकायले तोकेबमोजिम म्याद थप गर्न सक्ने गरी बाधा अड्काउ फुकाउ गर्ने आदेश जारी गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृत दिने ।
- विश्व व्यापार संगठन नेपालको आयात व्यवस्थापनसम्बन्धी कानुन र अभ्याससमेतका आधारमा आयात व्यवस्थापन तथा न्यूनीकरण गर्न नेपाल सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाब पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाब समिति गठन गर्ने ।
- फिनल्यान्डमा मिति २०७९ साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल तथा सिँचाइसचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
- २०७९ साउन ३० देखि २०७९ भदौ १० सम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन हुने इन्टर गभर्मेन्मेटल कन्फ्रेन्सको पाँचौँ सत्र आइजिसिभीमा नेपालको तर्फबाट सहभागिताका लागि कानुन तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव कुशलचन्द्र सुवेदीको भ्रमण स्वीकृत गर्ने ।
- नेपाली मूलका पोलिस नागरिक डा. बोधराज सुवेदीलाई पोल्यान्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकी नेपालको अवैतनिक वाणिज्य दूत नियुक्त गर्ने, तुर्केमिनिस्तानको आसागावतमा २०७९ साउन ३० र ३१ गते मिनिस्टिरियल ट्रान्सपोर्ट कन्फ्रेन्स फर एलएलडिस सिएसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री गोपालप्रसाद सिग्देललाई सहभागी हुन स्वीकृत दिने ।
- चलचित्र विकास बोर्डको अध्यक्ष पदमा श्री भुवन केसी, काठमाडौंलाई मनोनीत गर्ने ।
- गोरखा जिल्ला साबिक बारपाक गा.वि.स. वडा. न. ५ स्थित १५ जना जग्गाधनीको नाममा रहेको जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माण गर्नका लागि भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त गरी उक्त जग्गाको सट्टामा भूकम्प स्मृति पार्क गोरखाको नाममा प्राप्त हुने जग्गामा नबढ्ने गरी सट्टाभर्ना दिनको लागि सहमति प्रदान गर्ने ।
- सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा. प्रकाशराज रेग्मी र डा. नवीनचन्द्र गौतमलाई मनोनयन गर्ने ।
- राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने ।
Share :
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्