संसदीय विशेष छानबिन समितिले अनुसन्धानकालागि नेपाली प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई दिएको अर्थमन्त्रालयको सीसीटीभी फुटेजको प्रतिवेदन प्रहरीले समितिलाई बुझाइसकेको छ।
समितिको आज बिहान ८ बजे बसेको बैठकले लाहाछाप लगाएर शिलबन्दि गरिएको प्रतिवेदन खोलेको भएपनि प्रयोगशालाकै विज्ञहरुबाट त्यसको विश्लेषण हुनुपर्ने भन्दै, प्रतिवेदनको विवरण सार्वजनिक गर्न अपराह्न ४ बजे पुन: बैठक बस्ने जनाएको छ।समितिका सचिव सुरेन्द्र अर्यालले आज बिहानको बैठकमा प्रहरीले दिएको शिलबन्दि फरेन्सिक रिपोर्ट खोलिएको तर प्रावधिक विषय भएकाले विज्ञहरूसँगै छलफल गर्नुपर्ने भएकोले अध्ययनकै क्रममा रहेको र प्रयोगशालाकै विज्ञहरूबाट जानकारी लिएपछि मात्रै त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिने बताउनुभएको छ।
अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मेटाइएपछि छानबिन समितिले फुटेज रिकभर गर्नका लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । छानबिन समितिले अनुसन्धानको क्रममा कुनै ठोस प्रमाण नभेटेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल र लोकेसन ट्र्याकिङ गर्ने सुबिधा उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ। यधपी सत्तारूढ दलका सदस्यहरूले भने गोपनीयताको हक हनन हुने भन्दै समितिलाई कल डिटेल उपलब्ध गराउने सन्दर्भामा विरोध गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्