बजेट तर्जुमा गर्दा अनाधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद थप गर्ने प्रक्रिया सुरु भएको छ ।
संसदीय विशेष छानविन समितिले तोकिएको अवधिमा काम सम्पन्न गर्न नसकेकाले आजको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने विषय संसद बैठकको कार्यसूचीमा समावेश गरिएको जानकारी दिनुभएको छ । यसअघि अनुसन्धानका लागि १० दिनको समय दिइएको भएपनि, निर्धारित समयमा काम नसकिएपछि समितिका सचिव सुरेन्द्र अर्यालले आवश्यक समय थप्न आग्रह गर्नुभएको हो । अर्यालले अनुसन्धानको लागि प्रहरीलाई उपलब्ध गराएको सीसीटीभी फुटेजको प्रतिवेदन पनि आइनसकेको र कहिले आउने भन्ने टुंगो नभएकोले पनि थप समय आवश्यक पर्ने बताउनुभएको छ।
छानबिनका क्रममा समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग आज करिब ३ घण्टा सोधपुछ गरेको थियो । शर्माले बजेट निर्माणमा अर्थ मन्त्रालयका सरोकारवाला अधिकारीबाहेक अन्य कर्मचारी संलग्न भएको आरोप अस्वीकार गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस्