सत्ताधारीको चुनावी तालमेल:एमालेलाई आँप गठबन्धनलाई झटारो

  • नेपाल राष्ट्रिय दैनिक
  • April 27, 2022
Deuba

image: nagarik network

आसन्न स्थानिय निर्वाचनमा सत्ता साझेदार पांच दलिय गठबन्धनले साझा उमेद्द्वार बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको छ। तर पार्टीका शिर्ष नेताहरुले केन्द्रमा बसेर गरेको यो निर्णयले तल्लो तहका आम कार्यकर्ताहरुलाई भने निराश बनाएको छ । पार्टीको निर्णयको विरोध गर्दै देशभर बाटै बागी र स्वतन्त्र उम्मेद्वारी दिनेको संख्या विगतका निर्वाचनहरुको तुलनामा यसपाली उच्च रहेको छ। त्यसो त पार्टीको निर्णयको विरोध गर्दै स्थानिय तहमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिने र पार्टी परित्याग गर्नेको संख्या पनि उत्तिकै बढेको छ। तर पनि नेता कार्यकर्तालाई सम्झाउनु र बुझाउनुको सट्टा कारवाही गर्ने पार्टीको धम्किले झनै बलेको आगोमा घिउ थप्ने काम गरेको छ।

महानगरपालिकाको मेयरको विषयलाई लिएर गठबन्धन दलका नेताहरुबीच सुरु भएको पदिय भागवण्डाको विवाद अहिले गाउँपालिकासम्म फैलिएको छ। उम्मेद्वारी दिएर उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा घरदैलोमा निस्किँदासम्म पनि सत्ता गठबन्धनका शिर्ष नेताहरु पार्टी बाट बागी र स्वतन्त्र उम्मेद्वारी दिएका नेता कार्यकर्ताहरुलाई कारवाहीको धम्कि दिएर उम्मेद्वारी फिर्ता गराउन लागि परेका छन्।

नेपाली काँग्रेसकै कुरा गर्ने हो भने काँग्रेस सभापति देउवाकै गृह जिल्ला डडेल्धुराका पूर्व सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस (बीपी) बाट एमालेसंग चुनावी तालमेल गरेर अलग्गै चुनावमा होमिएको छ। यता चितवन काँग्रेसमा पनि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादीबाट रेणु दाहालले मेयरमा उम्मेद्वारी दिए पनि चितवन काँग्रेसका प्रभावशाली नेता, पूर्व सांसद जगन्नाथ पौडेलले मेयर पदको लागि बागी उम्मेद्वारी दिएका छन्। पोखरा महानगर र कास्की जिल्लाका काँग्रेस नेताहरुले पोखरामा मेयर काँग्रेसले पाउनुपर्छ भनेर डेलिगेसन सहित सभापति देउवालाई भेटेर केन्द्रको निर्णयको विरोध गरेको थियो। तर अन्त्यमा पोखरामा एकीकृत समाजवादीले मेयरको भाग पायो र गठबन्धन भित्रै बाट काँग्रेसले पोखरामा पनि बागी उम्मेद्वारी दियो। केन्द्रको निर्णयको विरोध गर्दै देशभर विभिन्न जिल्लामा काँग्रेस नेता कार्यकर्ताहरुले स्थानिय तहका पार्टी कार्यालयहरुमा तालाबन्दी नै गरे। त्यस्तै एकीकृत समाजवादी र माओवादीका स्थानिय नेताकार्यकर्ताहरुले देशभरका विभिन्न जिल्लामा पार्टीको निर्णयको विरोध गरेका छन्।

गठबन्धनको यो चुनावी तालमेल केन्द्रका सिमित शिर्ष नेताहरुको आपसी समझदारी र सत्ता स्वार्थ मात्र भएको आम कार्यकर्ताको बुझाई रहेको छ। त्यसैले गठबन्धनको यो चुनावी तालमेल केन्द्रबाट स्थानिय तहसम्म आइपुग्दा नितान्त बेमेल बनेको छ। स्थानिय तहमा नेता कार्यकर्ताहरु पार्टीको निर्णयले असन्तुष्ट बनेका छन्। चितवनकै कुर गर्ने हो भने पनि चितवन काँग्रेसका जिल्ला तहका नेताहरुले नेता जगन्नाथ पौडेललाई बागी उम्मेद्वारीबाट पछि नहट्न आग्रह गरेका छन् भने अर्को तर्फ प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फ बाट मेयरको उम्मेदवार बनेका विजय सुबेदीलाई जितको अग्रिम शुभकामना भन्दै बधाई दिएर सामाजिक संजालहरुमा स्टाटस लेख्न थालेका छन्। त्यसैमा पनि केहि समय अगाडी गठबन्धनको विषयलाई लिएर प्रचण्डले “चितवनका काँग्रेसले भनेर केहि हुँदैन , गठबन्धन केन्द्रबाट हुन्छ”भनि दिएको अभिव्यक्ति प्रति चितवन काँग्रेसका नेताहरुले त्यसो भए डडेल्धुराबाट मान्छे बोलाएर मत हाल्न लगाउनु भनेर आक्रोश पोखेका थिए।

स्थानिय नेता कार्यकर्ताहरु आफ्नो पार्टीको चुनाव चिन्ह बेगर अन्य कुनै पनि पार्टीको चुनाव चिन्हमा मत नहाल्ने पक्षमा देखिन्छन। यो परिस्थिति हेर्दा गठबन्धनका उम्मेदवारहरुलाई गठबन्धन बाटै भोट नआउने अनुमान गर्न सकिन्छ। र अर्को कुरा सत्ता गठबन्धनकै उम्मेदवारहरुलाई गठबन्धन भित्रकै अर्को दलले आफुलाई भोट नहाल्ने भनेर खुल्लम खुल्ला अभिव्यक्ति बाहिरा आइरहँदा गठबन्धन भित्रै पनि अन्तरघात हुने सम्भावना बढेको छ। यो माहोलले गठबन्धन भित्रै पनि आफुले उम्मेद्वारी दिएको पद बाहेक अरुमा भोट नहाल्न आफ्ना नेता कार्यकर्ताहरुलाई आन्तरिक रुपमा व्हिप नै जारि गरेर चुनावी प्रतिस्पर्धामा जाने सम्भावनालाई बढाएको छ।

समग्रमा वैशाख ३० गतेको निर्वाचन सत्ता गठबन्धन भर्सेस प्रमुख प्रतिपक्ष एमाले हो। तर एमालेको एउटै उम्मेदवार भएको ठाउँमा गठबन्धनबाट एक भन्दा बढी उम्मेदवार हुनुले अन्त्यमा प्रमुख प्रतिपक्ष एमालेलाई नै फाइदा हुने देखिन्छ। गठबन्धनको झटारो बुमर्यांग भएर आफैँतिर आउने सक्ने देखिन्छ। “सौताको रिसले पोइको काखमा पिसाब फेर्ने “भन्ने नेपाली उखान गठबन्धनभित्रको अन्तर्घातले चरितार्थ नगर्ला भन्न सकिने अवस्था भने छैन।

तस्विर : रिपब्लिका/ नागरिक नेटवर्क

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५