स्थानीय तहको निर्वाचनका लागि ११ करोड १९ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।
आज नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजसम्म ५३ जिल्लाको लागि मतपत्र छपाइसकेको जानकारी दिनुभएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ ।
आयोगले स्थानीय निर्वाचनका लागि १९ करोड ४० लाख मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।
सुरुमा दुर्गम जिल्ला र पछि पहुँचयोग्य जिल्लाका लागि मतपत्र छाप्ने काम भइरहेको छ । दुर्गमका लागि छापिएका मतपत्र सुरुमा सुरक्षाका साथ ढुवानी गर्नुपर्ने आयोगले जनाएको छ ।
मतपत्र संवेदनशील सामग्री भएकाले त्यसको ढुवानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको निर्वाचन आयोगले जनाएको छ ।
प्रवक्ता पौडेलले निर्वाचनका अन्य सामग्रीको सुरक्षा भने प्रहरीले गर्ने बताउनुभएको छ । जमिनबाट मतपत्र पठाउन नसकिने जिल्लामा हेलिकप्टरबाट मतपत्र पठाउने तयारी भइरहेको आयोगले जनाएको छ ।
आयोगले अन्य निर्वाचन सामग्री ढुवानीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको र प्रहरीले आवश्यक समन्वय गरी सुरक्षा व्यवस्था गर्ने जानकारी दिएको छ । प्रवक्ता पौडेलले जीपीएस मार्फत निर्वाचन सामग्री ढुवानीको अनुगमन गरिने बताउनुभएको छ। प्रवक्ता पौडेलले भन्नुभयो,”आयोगका कर्मचारी निर्वाचन सामग्री ढुवानी गर्न जान्छन, कर्मचारीको मोबाइलमा जीपीएस ट्र्याकिङ सिस्टम छ” ।
आफ्नो प्रतिक्रिया दिनुहोस्