सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थित रुपमा विस्तार गर्न चीनलाई आग्रह गर्नुभएको छ ।
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) को स्थायी समितिका अध्यक्ष ली चाङसुसँग उहांले तातोपानी र केरुङ बन्दरगाहलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गर्नुभएको हो । कोरोना महामरीपछी पनि नाकाबाट आयात निर्यात सामान्य अवस्थामा फर्किन नसकेको बताउंदै सापकोटाले यसमा सुधारको आवश्यकता रहेको बताउनुभएको हो ।
तातोपानीको लिपिङ्गमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतीक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
सभामुख सापकोटाले आर्थिक विकास, सांस्कृतिक जागरण र प्रविधिको विकासबाट चीनको समग्र राष्ट्रिय शक्ति निर्माणमा भएको प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालको विकास र समृद्धिका लागि पनि मार्गदर्शक हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।
उहांले कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाममा चीनको सफलता विश्व समुदायका लागि अनुकरणीय भएको बताउनुभएको थियो । सभामुख सापकोटाले नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सुरुदेखि नै चीन सरकारको सहयोग र भ्याक्सिन तथा अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउन चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्