वैदेशिक रोजगार कार्यालय, काठमाडौंले अनलाइन प्रणालीबाट मात्रै संस्थागत श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्रै संस्थागत श्रम स्वीकृत गर्ने निर्णय भएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिनुभएको छ ।
कार्यालयले श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिमा काम गरिरहेको छ । संस्थागत श्रम स्वीकृतिका लागि कार्यालयमा जनशक्ति उद्यमी वा तिनका प्रतिनिधि उपस्थित हुनुपर्ने पुरानो व्यवस्थालाई परिमार्जन गरि कार्यालयमा भौतिक उपस्थिति नगरी अनलाइन प्रणालीबाट संस्थागत श्रम स्वीकृति दिने प्रक्रिया अघि बढाएको हो।
श्रम स्वीकृतिलाई फेसललेस, पेपरलेस र नगदरहित बनाउन र छिटो, छरितो र पारदर्शी रूपमा सेवा उपलब्ध गराउन अनलाइन प्रणाली लागू गरिएको श्रम मन्त्रालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रुपमा सेवा दिने नीतिअनुरुप अनलाइन प्रणालीबाट श्रम स्वीकृत गर्ने व्यवस्था मिलाइएको बताउनुभएको छ ।
अर्यालले आधुनिक प्रविधिको प्रयोग गरी सरल र छिटो गुनासोरहित सेवा उपलब्ध गराउन मन्त्रालयले दिएको निर्देशनअनुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट भइरहेको बताउनुभयो ।
कार्यालयले कागजपत्र जाँच गर्न समय लाग्ने र कहिलेकाहीँ सर्भरमा समस्या आउन सक्ने भएकाले संस्थागत श्रम स्वीकृतिका लागि तीन दिन अगाडि नै अनलाइन आवेदन दिन इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी र सरोकारवालालाई अनुरोध गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्