स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा देशभर चुनावी माहोल बढेको छ। सत्ता गठबन्धनले साझा उम्मेद्द्वार उठाएर चुनावमा अघि बढ्ने रणनिति अघि सारेको बेला चितवन जिल्लाको भरतपुर महानगरपालिकामा भने गठबन्धन दलबीच नै विवाद बढेको छ।
सबै स्थानिय तहमा गठबन्धन गरेर अघि बढ्ने सहमतीमा सत्ता गठबन्धनका दलहरुले सहमति गरेको भएपनि मेयर पद भने आफुले पाउनु पर्ने भन्दै काँग्रेस र माओवादीले अडान लिएर बसेका छन्। यस अघि काँग्रेसको समर्थनमा माओवादीबाट रेणु दाहाल भरतपुरको मेयर बनेकोले यो पटक माओवादीले काँग्रेसलाई मेयर पद छाड्नु पर्ने चितवन काँग्रेसको धारणा रहेको छ। त्यसो त काँग्रेसको समर्थनमा मेयर बनेको भएपनि जिल्लामा काँग्रेसलाई पाखा लगाउन कोशिस गरेको भन्दै यस पटक माओवादीलाई सहयोग गर्न नसकिने चितवन काँग्रेसका नेताहरुले बताएका छन्।
यसैबीच आज चितवन काँग्रेसका नेताहरुले गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब समेत दिएका छन्। कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल,निवर्तमान सभापति जीतनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेल लगायतले नेता पौडेललाई भेटेर भरतपुर महानगरको मेयर कुनै पनि हालतमा नछाड्ने कांग्रेस जिल्ला कार्यसमिति चितवनको सर्वसम्मत निर्णय बुझाएका छन्।
त्यसो त केन्द्रले जबर्जस्ति माओवादीलाई समर्थ गर्ने निर्णय गरेमा आफु बागी लड्न तयार भएको काँग्रेस चितवनका पुर्व सभापति कृष्णलाल सापकोटाले बताउनुभएको छ। काँग्रेस चितवनको अस्तित्व जोगाउन भने पनि आफुले बागी दिने नेता सापकोटाले बताउनुभएको छ।
यता मेयर रेणु दाहालले भने काँग्रेसले समर्थन नगरे आफुहरु एक्लै चुनाव लड्ने अभिव्यक्ति समेत दिनुभएको छ। केहि समय अगाडि प्रचण्डले चितवन कांग्रेसले भनेर केहि हुदैन , गठबन्धन केन्द्रबाट हुन्छ भनि दिएको अभिव्यक्तिले चितवनका काँग्रेसहरु आक्रोशित बनेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्