इतिहासमा पहिलो पटक नेपालको विधुत औपचारिक रूपमा भारतीय बजारमा प्रवेश गरेको छ ।
सरकारको निरन्तर कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली किन्न भारत तयार भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरोकारवाला निकायसँगको वार्ता, मन्त्रालयस्तरमा द्विपक्षीय र बहुपक्षीय वार्ता र कूटनीतिक पहल सार्थक भएको बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार आगामी मनसुनमा करिब ३६० मेगावाट बिजुली भारतीय बजारमा प्रवेश गर्ने बाटो खुलेको छ । यसले वर्षायाममा खेर जाने बिजुली भारतीय बजारमा प्रवेश गर्ने र नेपाली लगानीकर्तालाई बजार अन्वेषण र विस्तारमा थप सहयोग पु¥याउने छ ।
सरकारले नेपाल विधुत प्राधिकरणको सहायक कम्पनीलाई बिजुली व्यापार गर्न अनुमति दिएको छ । निजी क्षेत्रले पनि क्षेत्रीय बजारमा विधुत आपूर्ति गर्न अनुमति मागेको छ ।
प्राधिकरणका अनुसार गत मनसुनमा मात्रै करिब ५०० मेगावाट बिजुली खेर गएको थियो । यसको बजार मूल्य करिब रु. ५ अर्ब। पछिल्लो भ्रमणका क्रममा भारतीय पक्षले नेपालमा सञ्चित बिजुली प्रयोग र खरिद गर्न आफू तयार रहेको बताएको थियो । भारतीय बजारमा नेपालको प्रवेशको प्रभाव रणनीतिक हुनेछ भन्ने सरकारले बुझेको छ ।
नेपालले झण्डै ८ सय मेगावाट बिजुली निर्यातको माग गर्दै आएको थियो । आन्तरिक रूपमा खपत बढाउने र निर्यात गर्दा क्रमशः विस्तार गर्ने लक्ष्य भएकाले ३६० मेगावाटसम्म निकासीको बाटो खुला गर्नु आफैमा उपलब्धि भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्