‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

  • नेपाल राष्ट्रिय दैनिक
  • March 16, 2022
Nepal UAE Labour Minister Meet scaled

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा.अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मङ्गलबार भेटवार्ता भएको छ ।

युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गर्नुभएको थियो । भेटवार्ताका क्रममा उहाँहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ ।

रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा युएई ल्याउने व्यक्ति तथा संस्थालाई कारबाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्ने बताइएको छ । भेटमा मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमा, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो ।

लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिक लाभान्वित हुने मन्त्री अवारको भनाइ थियो ।

भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल हुनुहुन्थ्यो ।

युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामीलगायत सहभागी हुनुहुन्थ्यो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५