हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता सत्तागठबन्धनका १८ उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा एक सिट जितेर एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको छ ।
राष्ट्रिय सभाको १९ पदको लागि सत्ता सत्तागठबन्धन सहितका नौ राजनीतिक दलबाट ४३ जनाले उम्मेद्बारी दिएका थिए । सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने आठ सिट बाँडेर संयुक्त उम्मेदवारी दिएका थिए । मधेस प्रदेशमा भने एमाले र लोसपा गठबन्धन गरेर चुनावमा उत्रिएका थिए ।
कुल तीन पदका लागि आठजनाले उम्मेदवारी दिएका प्रदेश १ मा गठबन्धनका दुई र एमालेका एक उम्मेद्वार विजयी भएका छन् ।महिलातर्फ गठबन्धनबाट एकीकृत समाजवादीकी जयन्ती राई र खुलातर्फ कांग्रेसका गोपाल बस्नेत र अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । अन्यतर्फ एमालेका गुरु बराल र कांग्रेसका गोपाल बस्नेतले बराबरी मत प्राप्त गरेपछी निर्वाचन आयोगले गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेतलाई विजयी घोषणा गरेको हो ।
मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् ।
त्यसैगरी गण्डकी प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन् ।तीनजना सदस्यका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ गठबन्धनकी उम्मेदवार कांग्रेसकी कमला पन्त, अन्यमा माओवादीका सुरेशकुमार आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका छन् ।
लुम्बिनीमा प्रदेशमा गठबन्धनका तीन उम्मेदवार विजयी भएका छन् । दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणामअनुसार गठबन्धनअन्तर्गत कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राजमोका तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन् ।
कर्णाली प्रदेशमा पनि गठबन्धनका तीन उम्मेदवार, कांग्रेसकी दुर्गा गुरुङ, एकीकृत समाजवादीका उदयबहादुर बोहरा र माओवादीका नरबहादुर विष्ट विजयी भएका छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।सुदूरपश्चिमबाट गठबन्धनका तीनैजना उम्मेदवार, महिला सदस्यमा एकीकृत समाजवादीका गरिमा शाह, दलितमा माओवादीका जगतबहादुर पार्की र अन्य समूहतर्फ सदस्यमा कांग्रेसका नारायणदत्त मिश्र निर्वाचित भएका हुन् ।
हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनसंगै नेकपा एमाले राष्ट्रिय सभामा ३१ सिटबाट १७ सिटमा खुम्चिएको छ । राष्ट्रिय सभाको आफ्नो वर्चश्व गुमाएको भएपनी १७ सिट सहित एमाले राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल कायम रहन सफल भएको छ । त्यसैगरी १५ सदस्यसहित माओवादी दोस्रो र १० सदस्यसहित कांग्रेस तेस्रो शक्तिको रुपमा रहेको छ । एकीकृत समाजवादी आठ सांसदसहित राष्ट्रिय सभाको चौथो शक्तिको रुपमा रहेको छ भने, राष्ट्रिय सभामा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनीत तीनजना सदस्य रहनेछन् ।
तस्विर : नयाँं पत्रीका
आफ्नो प्रतिक्रिया दिनुहोस्