विभागीय टिम त्रिभुवन आर्मी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गरे ।तर, आर्मीले जित निकाल्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
खेलको ७० औं मिनेटमा राजिबले गोल गरेका थिए । थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरेका हुन् ।
अब सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाँच पटकको च्याम्पियन थ्री स्टार भने बाहिरिएको छ ।
मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्