माडागास्कर राष्ट्रपति एन्ड्री रजोएलिनाले लामो समयदेखि चल्दै आएका पानी र बिजुली समस्याविरुद्ध भएको “जेन जी” आन्दोलनपछि सोमबार आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन्।
“सरकारका सदस्यहरूले आफूलाई तोकिएको जिम्मेवारी पूरा नगरेको भए हामी स्वीकार्छौं र क्षमाप्रार्थी छौं,” उनले राष्ट्रलाई सम्बोधन गर्दै भने। उनले प्रधानमन्त्री र मन्त्रीपरिषदलाई पदमुक्त गरिएको र आगामी तीन दिनभित्र नयाँ प्रधानमन्त्रीका लागि दरखास्त आह्वान गरिएको जानकारी दिए।
गत बिहीबार राजधानी एन्टानानारिभोबाट सुरु भएको “जेन जी” आन्दोलन “हामी बाँच्न चाहन्छौं, केवल जीवित रहन होइन” भन्ने नारा लिएर सुरु भएको हो। आन्दोलन अहिले आठ सहरसम्म फैलिएको छ। आन्दोलनकारीहरूले पानी र बिजुलीको दीर्घकालीन समाधानसँगै राजनीतिक सुधारको माग गरेका छन्।
संयुक्त राष्ट्रसंघले सुरक्षा निकायको कठोर दमनप्रति आपत्ति जनाएको छ। संयुक्त राष्ट्रसंघ \को मानवअधिकार प्रमुख भोल्कर टर्कले कम्तीमा २२ जनाको मृत्यु र सयभन्दा बढी घाइते भएको पुष्टि गर्दै “अत्यधिक बल प्रयोग रोक्न” आग्रह गरेका छन्। तर माडागास्कर परराष्ट्र मन्त्रालयले ती तथ्याङ्कलाई “अफवाह र गलत सूचनामा आधारित” भन्दै अस्वीकार गरेको छ।
एन्टानानारिभोमा हिंसा र तोडफोडका घटनापछि साँझदेखि बिहानसम्मको निषेधाज्ञा लगाइएको छ। केही सांसदहरूको घरमा आगजनी गरिएको खबर आए पनि “जेन-जी आन्दोलन” ले पैसा लिएर पठाइएका समूहहरूले आफ्नो आन्दोलनलाई बदनाम गर्न यस्तो गरेको दाबी गरेको छ।
रजोएलिनाले युवाहरूसँग संवाद गर्ने इच्छा व्यक्त गर्दै उनीहरूको आक्रोश र पीडालाई स्वीकार गरेका छन्। एक प्रदर्शनमा देखिएको प्लेकार्डमा लेखिएको थियो, “हामीलाई झगडा होइन, अधिकार चाहिन्छ।”
सन् १९६० मा स्वतन्त्रता प्राप्त गरेदेखि माडागास्करको राजनीति पटक–पटक आन्दोलन र विद्रोहले हल्लिएको छ। सन् २००९ मा भएको जनआन्दोलनले तत्कालीन राष्ट्रपति मार्क रावालोमानानालाई सत्ता त्याग्न बाध्य पार्दा रजोएलिना सत्तामा आएका थिए। हालको आन्दोलन भने सन् २०२३ को तेस्रो कार्यकालमा पुनः निर्वाचित भएपछि उनको नेतृत्वलाई आएको सबैभन्दा ठूलो चुनौती मानिएको छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्