काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो चरण अक्सनमार्फत २६ खेलाडी अनुबन्ध भएका छन्। शनिबार सम्पन्न अक्सनमा सहभागी ८ टोलीले आफूअनुकूल खेलाडी चयन गरेका हुन्।
सबैभन्दा बढी मूल्य पाउने खेलाडीमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ परेका छन्। उनीहरूले जनही रु १५ लाख प्राप्त गर्नेछन्। देव र अर्जुन चितवन राइनोजका लागि, आदिल काठमाडौं गोर्खाजका लागि र पवन कर्णाली याक्सका लागि खेल्ने भएका छन्।
यसैगरी, दिलीप नाथ र शेर मल्ल (लुम्बिनी लायन्स), हेमन्त धामी (सुदूरपश्चिम रोयल्स), सूर्य तामाङ (विराटनगर किङ्ग्स), सन्तोष यादव (काठमाडौं गोर्खाज) र युवराज खत्री (कर्णाली याक्स) जनही रु १० लाखमा अनुबन्धित भएका छन्।
मयन यादवलाई जनकपुर बोल्टस्ले रु ७ लाख ५० हजारमा र आकाश त्रिपाठीलाई काठमाडौं गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ। नारायण जोशी र साहिल पटेल (विराटनगर किङ्ग्स), अर्जुन कुमाल (पोखरा एभेन्जर्स), विशाल पटेल (लुम्बिनी लायन्स) र आदित्य महत (जनकपुर बोल्टस) जनही रु ५ लाखमा अनुबन्धित भएका छन्। काठमाडौं गोर्खाजले उत्तम थापा मगरलाई रु ३ लाखमा ल्याएको छ।
त्यस्तै, टेकबहादुर रावत र दीपेन्द्र थापा (सुदूरपश्चिम रोयल्स), अभिषेक तिवारी र कृष्ण पौडेल (पोखरा एभेन्जर्स), सचिन भट्ट (जनकपुर बोल्टस), तुलबहादुर थापा (काठमाडौं गोर्खाज) र इमरान शेख तथा दीपक डुम्रे (कर्णाली याक्स) जनही रु २ लाखमा अनुबन्धित भएका छन्।
काठमाडौं गोर्खाजले आफ्नो कोटा अनुसार ५ खेलाडी अनुबन्ध गरेको छ भने अन्य टोलीले बाँकी खेलाडी दोस्रो चरणमा न्यूनतम मूल्यमा अनुबन्ध गर्न पाउनेछन्। यसपटक मिनी अक्सनमा ४५८ दर्ता खेलाडीमध्ये छनोट भएका १५० खेलाडी सहभागी भएका थिए।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्