बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्।
हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा छैन।” उनले थपे, “युरोपेली सङ्घ अहिले विघटनको अवस्थामा छ, त्यसैले म आफ्नो देशको भविष्य अझ बलियो रूपमा त्यससँग बाँध्न चाहन्न।” उनका अनुसार, “यदि गम्भीर सुधार भएन भने, युरोपेली सङ्घ हाम्रो जीवनको अस्थायी अध्याय मात्र हुनेछ।”
अघिल्ला वर्षहरूमा पनि हङ्गेरी सरकारले बारम्बार भनेको छ कि देश अझै युरो अपनाउनका लागि तयार छैन, किनकि उसले माष्ट्रिख्ट मापदण्डहरू पूरा गरेको छैन। यी मापदण्डहरू १९९२ को युरोपेली सङ्घ सम्झौताअन्तर्गत तय गरिएको थियो, जसमा वित्तीय स्थिरता, मूल्यस्तर र विनिमय दरको स्थायित्वका सूचकहरू समावेश छन्।
हङ्गेरीले सन् २००४ मा युरोपेली संघमा प्रवेश गरेदेखि नै युरोजोनमा प्रवेशको विषय उठ्दै आएको हो। यधपी, स्वतन्त्र मौद्रिक तथा वित्तीय नीति गुमाउने खतरा भएकाले हङ्गेरी उक्त आर्थिक प्रतिस्पर्धा झेल्न तयार नभएको ओरबानले बताएका छन्।
हाल युरोपेली संघका २० सदस्य राष्ट्रहरूले आधिकारिक रूपमा युरो प्रयोग गर्छन्। हङ्गेरी बाहेक बुल्गेरिया, डेन्मार्क, पोल्याण्ड, रोमानिया, चेक गणराज्य र स्वीडेनले अझै युरो अपनाएका छैनन्।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्